१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मल पूर्जाको दोस्रो विश्व रेकर्ड : ‘केटु’ आरोहण गर्ने पहिलो आरोही

नेपालब्रिटेन डट कम्
४ माघ २०७७, आईतवार ०५:२८

काठमाडौँ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ ले विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाएका छन्। पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन्।

खराब मौसमका कारण क्याम्पसमा रोकिएका पूर्जाले शनिबार स्थानीय समयअनुसार ५ बजे आरोहण गरेका हुन्। ‘हामीले असम्भव मानिएको यात्रालाई सम्भब बनाएका छौ,‘हाम्रो टोलीले एकसाथ नेपाली झण्डा फहराएको छ’ पूर्जाले फेसबुक स्टाटसमा लेखेका छन्। निर्मल र उनको आरोहण दलका सदस्यहरुले नेपाली झण्डा फहराइएको तस्बिर समेत सार्वजनिक गरेका छन्।

पूर्वनिर्धारित समय तालिका अनुसार आरोहणमा निस्किएपनि प्रतिकुल मौसमका कारण दोस्रो क्याम्पमा रहेको त्रिपाल र आरोहणका लागि आवश्यक अरु उपकरण एवम् सामग्री हावाले उडाइदिएपछि अनुकुल मौसमको प्रतिक्षामा बसेकाले आरोहणमा ढिलाई भएको थियो। क्याम्पसमा रहेको किटहरु, स्लिपिङ ब्यागहरु, म्याट्रेसहरु, जुत्ताको हटेड सोलहरु, पञ्जाहरु, प्याराग्लाइडिङको सामग्रीदेखि खाना पकाउने इक्विपमेन्ट समेत नष्ट गरेपछि आरोहण दल अलपत्र परेको थियो।

लगभग आरोहणको बाँकी काम स्थगित गरेर फर्किने तयारीमा रहेको अवस्थामा पुनः आवश्यक तयारी गरी बाँकी मिसन पुरा गरेको निर्मलका दाजु कमलबहादुर पूर्जाले बताए। ‘विश्व आरोहणको क्षेत्रमा नेपाली टोलीबाट अर्को नयाँ इतिहास रच्न सफल भएको छ,‘यो निकै सुखद् पक्ष हो’ पूर्जाले भने। उनले आफ्नो परिवारसँगै विश्वभर रहेका नेपालीको शीर उच्च भएको बताए। विश्वकै अग्लो सगरमाथापछि विश्वकै अग्लो ‘केटु’ आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो।

‘विन्टर सिजन’ मा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन्। जाडो सिजनमा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको बायू गतिजस्ता प्रतिकुल अवस्थामा समेत आरोहण रच्ने प्रयासले विश्वभरका पर्वतारोहीको नजर पूर्जातर्फ सोझिएको थियो। विश्वभरका पर्वतारोहीले के–टु हिमाललाई किलर हिमालको रुपमा समेत चर्चा गर्ने गरेका छन्। यो हिमालमा अहिलेसम्म जम्मा ३ सय ६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यान समेत गुमाइसकेका छन् ।आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, तेन्जिङ शेर्पा लगायत ९ जनाको टोलीले सघाएको थियो। यो मिसनमा रहेको टोलीले यसअगाडी समेत पूर्जालाई सघाएका थिए।

निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व कीर्तिमान बनाएर अन्तरराष्ट्रिय स्तरमै ठूलो चर्चा कमाएका थिए। हिमाल आरोहणका क्रममा फसेका आरोहीलाई उद्धार गरेर समेत पूर्जाले चर्चा कमाएका थिए। गत वर्षको बैशाख १० गते आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देली समेत हुन्। उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए।

बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत रहँदा पूर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। पूर्जालाई गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कीर्तिमय राष्ट्रदीप पदकबाट विभुषितको घोषणा समेत गरेकी थिईन्। उनले दुलर्भ आरोहणसँगै आफ्नो आत्मकथा ‘वियोण्ड पोसिबल’ समेत सार्वजनिक गरिसकेका छन्।
– हरिकृष्ण गौतम