६ बैशाख २०८१, बिहीबार
Follow Us

उलविचमा नेपालीद्धारा संचालित फार्मेसीले बुधबारबाट कोरोनाविरुद्धको खोप प्रदान गर्ने

नेपालब्रिटेन डट कम्
५ माघ २०७७, सोमबार १७:५९

लण्डन । उलविच लेट नाइट फार्मेसीले बुधबार (जनवारी २०) कोरोनाभाइरस (कोभिड– १९)विरुद्धको खोप सेवा प्रदान गर्ने भएको छ । लण्डनको ग्रिनविचस्थित यो फार्मेसीले इंग्ल्याण्डको राष्ट्रिय स्वास्थ्य सेवा विभाग (एनएचएस)बाट अनुमति पाएसँगै बुधबारबाट खोप सेवा प्रदान गर्न लागेको हो ।

उलविच फार्मेसी बेलायतमा कोरोनाभाइरसको महामारीको अवस्था भयावह भइरहेको बेला एनएचएसबाट खोप कार्यक्रमको लागि योग्य भएर अनुमति पाउने ग्रिनविचस्थित एकमात्र फार्मेसी हो भने लण्डनभरी अनुमति पाएका १५ वटा फार्मेसीमध्ये पनि एक हो ।

एनएचएसको अनुमतिसँगै फार्मेसीका फर्मासिस्ट तथा टिमले कोरोनाविरुद्धको खोप लगाउनको लागि उच्च प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप सेवा प्रदान गर्नेछ । उलविचले पहिलो चरणमा ७० वर्षभन्दा बढी उमेर भएका वृद्ध÷वृद्धा कमजोर स्वास्थ्य भएकाहरुलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउन लागेको हो । उलविचले पनि प्राथमिकतामा परकोहरुलाई खोप सेवा प्रदान गर्नेछ । बेलायतमा हालसम्म प्राथमिकतामा परेका ४० लाख व्यक्तिहरुले खोप प्राप्त गरिसकेका छन् ।

उलविच फार्मेसीबाट खोप सेवा लिनको लागि ‘एनएचएस कोभिड– १९ भ्याक्सिनेशन बुकिङ सर्भिस’मा गएर आवेदन दिनुपर्नेछ । साथै, जीपीले एसएमएस तथा लेटरमार्फत कोभिड १९ भ्याक्सिनका लागि आमन्त्रित गर्नेछ । उलविच फार्मेसीका सुपरिटेन्डेन्ट फर्मासिस्ट जिग्नेश मेहताले आफूहरु खोप कार्यक्रमको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गर्दै भने ‘हामी राष्ट्रिय स्वास्थ्य सेवाको कोरोनाविरुद्धको खोप कार्यक्रमको लागि योग्य भएकोमा खुसी छौं । बिरामीहरुलाई गुणस्तरिय सेवा दिँदै आएका हामीले अहिले भ्याक्सिन प्रदान गर्ने अनुमति पाएका छौं र आगामी दिनमा हाम्रो सेवालाई अझै बिस्तार गर्नेछौं । हाम्रो टिम सेवाग्राहीबाट आउने सुझाव तथा सल्लाह अनुसार अघि बढ्नको लागि सँधै तयार छ ।’

उलविच लेट नाइट फार्मेसी कोभिडविरुद्धको खोप प्रदान गर्नको लागि बिभिन्न कारणले योग्य भएको मेहताको भनाई छ । उनका अनुसार उलविच फार्मेसी छिटो खोप प्रदान गर्नसक्ने, कोरोनाको समयमा पालना गर्नुपर्ने मापदण्डको पालना गरिरहेको, दैनिक १२ घण्टाभन्दा बढी समय सेवा प्रदान गरिरहेको साथै उचित तापक्रममा कोरोनाविरुद्धका १ हजार खोपहरु भण्डारण गर्नसक्ने भएकोले खोप सेवा प्रदान गर्ने अनुमति पाएको उनको भनाई छ ।

बेलायत सरकारले अर्को दुई सातामा थप २०० वटा फार्मेसीहरुलाई खोप सेवा प्रदान गर्नको लागि अनुमति दिने बताइएको छ । यसको लागि उलविच फार्मेसीको अन्य शाखाहरुले पनि आवेदन दिएको छ । उलविच फार्मेसीका निर्देशक राजन कँडेलका अनुसार फार्मेसीले अन्य शाखाहरुबाट समेत खोप सेवा प्रदान गर्ने तयारी गरेको छ । यसको लागि आफूहरु हरेक हिसावले तयार रहेको उनको भनाई छ । ‘बेलायत सरकारले फेब्रुअरी महिनाको मध्यसम्ममा १ करोड ५० लाख व्यक्तिहरुलाई खोप लगाउने योजना बनाएको छ ।

ग्रिनविचस्थित उलविचले महामारी नियन्त्रणको लागि सर्वसाधरणहरुलाई खोप दिने अनुमति पाएकोमा हामी खुसी छौं । हामीले ग्रिनविच तथा साउथ इष्ट लण्डनका स्थानीयहरुलाई सहयोग गर्ने अवसर पाएका छौं । यसबाट हामी निकै उत्साहित भएका छौं । साथै, हाम्रा फार्मेसीका अन्य शाखाहरुले पनि खोप सेवा प्रदान गर्नको लागि निवेदन दिएको छ । यसको लागि हामी सबै हिसावले तयार छौं ।’

थप सम्पर्कको लागि
उलविच लेटनाइट फार्मेसी
इक्विटेबल हाउस, ग्राउण्ड फ्लोर, लोअर, १० उलविच न्यू रोड लण्डन
एसई१८ ६एबी
सम्पर्क नम्बरः ०२०८३१६७९७७