१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
६ माघ २०७७, मंगलवार १२:१०

काठमाडौँ । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताएका छन् ।

प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए ।

प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र त्यसमा राजाकै भाषा प्रयोग गरिएको बताए । ‘प्रधानमनत्री ओलीको भाषामा राजाकै भाषा ह्वास्स गन्हाएको छ’ उनले भने । उनले ओलीले राजतन्त्र पुनःस्थापना र देशलाई विध्वंश गर्ने प्रतिक्रान्तिको योजना जसरी पनि असफल पार्नुपर्ने बताए ।

उनले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नु सवैको दायित्व भएको बताए । त्यसक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले पटकपटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरुवात गरेको बताए ।

संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने उनले बताए । प्रचण्डले भने, ‘मैले त बुझेको छु, अब केपीको हातमा केही छैन । जुन दिन उहाँले संसद भंग गर्न सिफारिस गर्नुभयो, त्यो दिनबाट उहाँको हातमा केही छैन, अब अन्तै छ चिजहरु ।’

उनले ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै पार्टीले गर्दा संसद विघटन गर्नुपरेको भनेर कूतर्क गरिरहेको बताए । ‘पार्टी र देशको संविधानलाई पनि कुल्चेर उहाँ निरंकुश शासक बन्ने प्रयास गर्नुभयो । उहाँलाई म गाली गर्दिन । तर्क गरिरहेको छु । पूर्व एमालेमा खेल्यो भन्नुहुन्छ । माधव नेपाल, झलनाथ खनाललाई विश्वासमा लिन नसक्ने भर्खरै एकता गरेको प्रचण्डले कसरी विश्वासमा लिन सक्यो केपी ओलीजी म प्रश्न गर्न चाहान्छु’ प्रचण्डले प्रश्न गरे । उनले ओलीको निरंकुश र दम्भका कारण अहिलेको अवस्था आएको भन्दै प्रचण्डले गत माघमा केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओली आत्तिन थालेको बताए ।