६ बैशाख २०८१, बिहीबार
Follow Us

मलेसियाका अस्पतालमा नेपालीका शवहरू थुप्रिए

नेपालब्रिटेन डट कम्
७ माघ २०७७, बुधबार १९:२२

काठमाडौं। मलेसियामा हाल ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेको मलेसियास्थित नेपाली दूतावासमा रहेका छन्। कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेसियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार ती शवहरू नेपाल ल्याउन सरकारलाई आग्रह गरिए अनुसार यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेसिया जान लागेको छ। बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पुर्याउने गर्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेसिया पनि पर्छ। कोरोनाभाइरससँग जुध्न भन्दै मलेसियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ। उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको छ।

शव किन थुप्रिए?

कोभिड–१९ का कारण कामदारको आदानप्रदानमा कमी हुँदा र अन्य मानिसहरूको आवतजावतमा पनि कडाइ भएकाले मलेसिया र नेपालबीच हुने नियमित उडानहरू कम भएको अधिकारीहरू बताउँछन्। त्यसले गर्दा अहिले भइरहेका उडानहरूमा पनि सबैजसो कम्पनीले साना जहाज मात्र उडाइरहेको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताए।

उनले भने, ‘कोभिडपछि नेपाल र मलेसियाबीच हुने हवाई उडानको संख्या कम भयो।’ ‘अहिले मलेसियाबाट जाने उडानले पनि कार्गोभन्दा यात्रुलाई नै महत्व दिन्छन्। त्यसले गर्दा यहाँ शवको संख्या बढेको हो।’ उनले त्यसलाई समाधान गर्न नेपाल वायुसेवा निगमको ठूलो वाइडबडी जहाज पठाइदिन आग्रह गरिएको बताए।

त्यसैअनुरूप आगामी शुक्रबार निगमले जहाज मलेसिया पठाउने र शनिबार १८ वटा शवसहित यात्रु लिएर फर्कने खबर प्राप्त भएको उनले जानकारी दिए। निगमका अधिकारीहरूले पनि त्यसबारे मलेसियालाई उडान अनुमतिका लागि प्रस्ताव पठाएको बताएका छन्।

तर ठूलो जहाजबाट हुने एउटा उडानले मात्र नेपालीका सबै शव स्वदेश पठाउन नसकिने देखिएको कार्कीले जानकारी दिए। उनले भने, ‘हामीले सबै विमान कम्पनीलाई आग्रह गरेर एउटा–दुइटा शव त पठाइरहेका छौँ तर त्यसले मात्र सबै शव व्यवस्थापन हुन सक्ने अवस्था छैन। त्यसैले हामीले थप वाइडबडीको उडानका लागि पहल गरिरहेका छौँ।’

वैदेशिक रोजगार बोर्डका श्रेष्ठका अनुसार कोभिडकै कारण अहिलेको समस्या उत्पन्न भएको हो। उनका अनुसार अहिले यात्रु नहुँदा नेपाल र मलेसियाबीच सातामा तीनवटा मात्र उडानहरू भइरहेको र सानो जहाजमा एउटा उडानमा एउटै मात्र शव ल्याउन सकिन्छ।

नेपालीको मृत्यु कति?

अधिकारीहरूका अनुसार अहिले मलेसियामा विभिन्न कारणले निधन भएका नेपालीका शवहरू रहेका छन्। त्यस्ता कारणमा दुर्घटना, हृदयाघात, विभिन्न रोग र आत्महत्यालगायत रहने गरेका छन्। कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएकाको भने शव नेपाल नल्याई उतै अन्तिम संस्कार गर्ने गरिएको श्रेष्ठ बताउँछन्।

बोर्डको तथ्याङ्क अनुसार गत वर्ष मलेसियामा एक सय ७६ जना नेपाली कामदारको निधन भएको थियो। त्यसमध्ये एकजना महिला थिइन् भने अरू सबै पुरुष थिए। गत वर्ष विभिन्न देशमा गरेर कूल ६५६ जना वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको निधन भएको बोर्डको तथ्याङ्क छ।

मलेसियामा कार्यस्थलको अवस्था

मलेसियामा वैधानिक कागजात भएका र नभएका गरी करिब पाँच लाख नेपाली कामदारहरू रहेको बताइने गरेको छ। कतिपय नेपाली कामदारहरू खराब अवस्थामा त्यहाँ कार्यरत रहेको विवरण पनि बेलाबेला सार्वजनिक हुने गरेको छ।
केही महिनाअघि मात्र विश्वकै ठूलो र चर्चितमध्येको एउटा पन्जा कम्पनीमा कामदारको शोषण गरिएको भन्ने विवरणहरू सार्वजनिक भएका थिए। उक्त कम्पनीमा सयौँ नेपाली कामदारहरू कार्यरत रहेका थिए।

त्यहाँ कार्यरत सयौँ कामदारमा एकैपटक कोभिड–१९ भएपछि उक्त कम्पनी केही समयका लागि बन्द भएको थियो भने कामदारलाई दिइएको सुविधालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रश्न उठाएका थिए। बीबीसी