७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति बाइडेनले उल्ट्याए ट्रम्पका विदेश नीति

नेपालब्रिटेन संवाददाता
८ माघ २०७७, बिहीबार ०५:२१

अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ लिएका छन् । नोभेम्बर तीनमा भएको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले पूर्व निर्धारित कार्यक्रम अनुसार बुधवार अमेरिकी संसद् भवनमा शपथ ग्रहण गरेका हुन् ।

बाइडेनले जम्मा ३५ शब्दको शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाइडेन अघि अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले पनि पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

कोरोना महामारीका कारण शपथ कार्यक्रम सामान्य बनाइएको थियो । शपथ समारोहमा एक हजार दुई सय मानिस स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सहभागि भएका थिए ।

बाइडेनको जित प्रमाणित गर्न आयोजित संसद बैठकमा ट्रम्प समर्थकले आक्रमण गर्दा प्रहरी सहित पाँच जनाको मृत्यु भएकाले शपथ समारोहमा सुरक्षा सतर्कता बढाइएको थियो ।

शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका थिए । हिंसात्मक प्रदर्शन हुनसक्ने अनुमानले पचासवटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

बाइडनले उल्ट्याए ट्रम्पका नीति
बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम थालेका छन् । शपथ ग्रहणको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर काम थालेका हुन् ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय प्रयासलाई लिएर कार्यकारी आदेश जारी गरेका हुन् । बाइडेनले जारी गरेको कार्यकारी आदेशमा संघीय सरकारका भवन तथा कार्यालयहरुमा मास्क लगाउन अनिर्वाय गरिएको छ ।

यस्तै उनले एक सय दिनका लागि मास्क च्यालेन्जको घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनः फर्काउने, पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा पनि उनले हस्ताक्षर गरेका छन् ।

बाइडेनले मुस्लिम देशमाथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध हटाउने, मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण भइरहेको पर्खाल निर्माण रोक्ने आदेशपनि जारी गरेका छन् । गम्भिर चुनौतीहरु रहेकाले समय खेर नफाल्ने बाइडेनले बताएका छन् । उनले शपथपछिको सम्बोधनमा आफू सबै अमेरिकीका लागि काम गर्ने र सबैको राष्ट्रपति बन्ने बताएका थिए ।