६ बैशाख २०८१, बिहीबार
Follow Us

ओलीलाई तह लगाउन नसकेको भन्दै प्रचण्डले गरे आत्मालोचना

नेपालब्रिटेन संवाददाता
९ माघ २०७७, शुक्रबार ११:५५

काठमाडौ । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन् । नेकपा दाहाल नेपाल समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन विरुद्धको विरोध प्रदर्शनमा अध्यक्ष दाहालले आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरे । उनले ओली प्रवृत्ति स्वीकार गर्ने भुल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाए । आफूहरुको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफू जनतामा आउनुपरेको उनले बताए ।

अध्यक्ष दाहालले ओलीको पक्षमा लागेका पूर्वमाओवादी नेताहरुलाई भगौडाको आरोप लगाए । दाहालले केही पूर्वमाओवादी जो ओलीको पक्षमा लागेका छन्, उनीहरुले ओलीका साइबर सेनाभन्दा पनि बढी खरानी घसेको देख्दा लाज लागेको बताए ।

अर्का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाए । उनले हिटलर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा तीन करोड मानिसको ज्यान गुमेको बताए । संविधानमा निर्वाचित व्यक्ति पनि तानाशाही हुने गरेको उदाहरण ओलीबाट प्रस्तुत भएको उनले बताए ।

नेपालले आफूसँगको ५० वर्षे सहकार्यमा केपी ओलीले दुःख मात्रै दिएको गुनासो पनि गरे । वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन र लोकतन्त्र दुवैका लागि ओली लायक नरहेकाले कारबाही गरेको बताए । खनालले ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकेको भन्दै अब उनलाई कम्युनिस्ट पार्टीको सदस्यबाट नै हटाउने बताए । आफू भगौडा भए पनि ओलीले अरुलाई भगौडा भन्दै आरोपित गरिरहेको उनले बताए ।

नेता घनश्याम भूसालले अब ओलीको सेटिङले देश नचल्ने बताए । नेता भुसालले यतिबेला सबैले प्रधानमन्त्री ओलीले सबैतिर सेटिङ मिलाएका छन् भनेर भन्ने गरे पनि त्यसो हुन नदिइने बताए । भुसालले २१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पालेर ओली पराजित हुने बाटोमा लागेको आरोप लगाए ।

नेकपा दाहाल नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । विरोध सभा अघि सो समूहले काठमाडौंका वेग्लावेग्लै ९ ठाउँबाट जुलुस निकालेको थियो । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै सत्ता पक्षसहित विभिन्न राजनीतिक दलहरु आन्दोलनमा छन् ।