११ बैशाख २०८१, मंगलवार
Follow Us

युरोपमा कोरोनाविरुद्धको खोप अभाव

नेपालब्रिटेन संवाददाता
१० माघ २०७७, शनिबार ०८:२४

युरोपका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । बेलायतको कम्पनी एस्ट्राजेनेकाका साथै फाइजर र बायोएनटेकले प्रतिबद्धता अनुसार खोप उपलब्ध गराउन नसक्दा खोप कार्यक्रम प्रभावित भएको हो ।

फाइजर र बायोएनटेकले वाचा गरे अनुसार खोप उपलब्ध गराउन सकेको छैन । संक्रमितको संख्या बढिरहेको बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको हो ।

जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम रोकिएको छ । स्पेनको मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ ।

फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । इयुले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको छ ।

इटली र पोल्यान्डले उत्पादन घटाउने कदमविरुद्ध कानुनी उपचारमा जाने धम्की दिएका छन् । युरोपेली आयोगले पनि स्वीकृति भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने जनाएको छ ।

बेलायती कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अपेक्षा भन्दा कम खोप उत्पादन हुने जनाएको छ । अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म युरोपमा स्वीकृति प्रदान गरिएको छैन ।

इयुले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्विकृति दिएको छ । हंगेरीले इयुले स्वीकृति नदिएको रसियाको स्पुत्निक भी किन्ने जनाएको छ । उसले चीनको सिनोफार्मको खोप किन्न पनि सम्झौता गरेको छ ।