७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल–बेलायत सम्बन्धको द्विशतवार्षिकोत्सवको अवसरमा हुलाक टिकट (यस्तो छ टिकट)

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार ११:५३

काठमाडौं । नेपाल बेलायत सम्बन्धको द्विशतवार्षिकोत्सवका अवसरमा हुलाक टिकट प्रकाशनमा ल्याइएको छ । नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सले विहीबार आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले टिकटमा पहिलो टाँचा लगाए । उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले नेपाल र बेलायत सम्बन्धको आयामबारे चर्चा गरेका थिए । नेपाल र बेलायत सम्बन्धको दुई सय वर्षको इतिहासमा दुई देशबीचको सम्बन्ध अझ मजबुद रहेको मन्त्री कार्कीले बताए ।
कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले नेपाल बेलायतका लागि जहिले असल मित्रको रुपमा रहेको उल्लेख गरे । बेलायतले प्रत्येक वर्ष नेपाललाई ठूलो सहयोग उपलब्ध गरेको जानकारी दिँदै उनले पुनर्निमाणका लागि पनि १ सय ४० मिलियन पाउन्ड सहयोग उपलब्ध गराएको बताए ।
नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले नेपाल र बेलायतबीच सन् २०१६ मित्रता गाँसिएको २ सय वर्ष पुगेको र सन् २०१५ सैनिक सहयोग सुरु भएको २ सय वर्ष पुगेको बताएका थिए । यो अवसरलाई विभिन्न रचनात्मक काम गरेर मनाइएको स्मरण गर्दै अध्यक्ष खेतानले पछिल्लो पटक हुलाक टिकट प्रकाशनमा ल्याइएको बताए ।
२० लाख प्रति छापिएको उक्त हुलाक टिकटको मूल्य १० रुपैयाँ रहेको जानकारी हुलाक सेवा विभागका निर्देशक सुरेश अधिकारीले जानकारी दिए । पूर्णकला लिम्बूले डिजाइन गरेको उक्त हुलाक टिकट इन्डोनेसियामा छापिएको हो ।
ticket