७ बैशाख २०८१, शुक्रबार
Follow Us

मिर्गौला बेचबिखन गर्ने तीन पक्राउ

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार ११:५६

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले भारतका विभिन्न सहरमा जागिर लगाइदिने प्रलोभन देखाई मानव अङ्ग मिर्गाैला बेचबिखन गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरी भारतका विभिन्न स्थानमा लगी बेहोस बनाई मिर्गौला निकाली बेचबिखन गर्ने तीन जनालाई पोखरा र काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई बौद्ध बस्ने विकास भन्ने बिनुबहादुर तिमल्सेना, दोलखा घर भई भक्तपुर बस्ने प्रकाश बस्नेत र कास्की घर भई पोखरा बस्ने भीमप्रसाद न्यौपाने रहेका छन् ।

सो अवसरमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जागिर लगाइदिने बहाना बनाएर लैजाने, विभिन्न प्रकारका खानेकुरा खुवाएर लठ्याउने र मिर्गाैला झिकेर बेच्ने तथा पुनःनेपाल ल्याइदिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म पाँच जनाको मिर्गाैला झिकेर बिक्री गरेको अनुसन्धानमा खुल्न आएको छ ।” उहाँले मिर्गाैला बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जनाको खोजी कार्य जारी रहेको पनि बताउनुभयो ।

सात किलो सुनसहित एकजना पक्राउ
यस्तै महाशाखाले सात किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । अवैधरुपमा सुन ओसारपसार गरेको आरोपमा सिन्धुपाल्चोक लिस्ती घर भई हाल स्वयम्भु बस्ने कुन्साङ लामालाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक खनालका अनुसार बा ८ च ७४२० नंको हाइलक्स गाडीमा राजस्व छलेर सुन ल्याउँदै गरेको अवस्थामा बुधबार साँझ उनलाई पक्राउ गरिएको हो । सुनसहित पक्राउ परेका चालक लामालाई कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताउनुभयो ।