७ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन दिनभित्र सहमति नजुटे प्रकृया अघि बढ्छ : सभामुख घर्ती

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार १२:०६

काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले विवादित विषयमा सहमती जुटाउन प्रमुख राजनीतिक दललाई तीन दिनको समयसीमा दिनुभएको छ । संसद भबन परिसरमै आयोजित एक कार्यक्रममा सभामुख घर्तीमगरले तीन दिनभित्र दलहरुवीच सहमति नभए प्रक्रियामा अघि बढ्ने बताउनुभयो । घर्तीमगरले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित् हुन आफूले निर्देशन दिएको जानकारी दिनुभयो । सभामुख घर्तीमगरले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बाध्यतालाई गम्भिरताका साथ लिन राजनीीतक दलहरुलाई आग्रह समेत दिनुभयो ।
यता, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने जनाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को केन्द्रीय कार्यालय बिजुलीबजारमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने निष्कर्ष निकालेको छ ।
बैठकका बारेमा जानकारी दिँदै तमलोपा उपाध्यक्ष विशेषचन्द्र लालले संविधान संशोधन गरी निर्वाचन गर्दा थोरै भए पनि मोर्चाका माग सम्बोधन हुने र आफूहरु निर्वाचनमा जानसक्ने बताउनुभयो ।
बैठकमा मुलुकको समसामयिक राजनीति र राजनीतिक गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “मोर्चाले संविधान कार्यान्वयन होस् भन्ने चाहेको छ । त्यसका लागि हामीले लचकता अपनाएका छौँ ।”
मोर्चाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले संविधानको मूल मर्म विपरीत काम गरेको निष्कर्ष निकाल्दै विशेष, संरक्षित र स्वायत्त क्षेत्रका बारेमा कुनै कार्य नगरेको आरोप लगाएको छ । बैठक भोलि पनि बस्ने र भोलि नै पत्रकार सम्मलेन गरी बैठकका निर्णय सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।