१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिएनएस युकेद्वारा जनगणनाबारे ओएनएससित छलफल

नेपालब्रिटेन डट कम्
१५ माघ २०७७, बिहीबार १०:१३

लण्डन । इङल्याण्ड र वेल्समा आउँदो मार्च २१ का दिन हुन गइरहेको जनगणनाका बारेमा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) सित छलफल गरेको छ ।
माइक्रोसफ्ट टिम्समा बुधबार भएको सो छलफलमा ओएनएसबाट सामुदायिक साझेदारी प्रबन्धक इमिली स्टिडस्टन, ग्रिन्विच क्षेत्रका लागि नेपाली समुदायका सल्लाहकार समिर गुरुङ, ओएनएस युकेका जनसम्पर्क तथा मिडिया टीमका ग्लेन ग्यारेट र एमी वाल्कर तथा सिएनएस युकेका तर्फबाट बरिष्ठ शोधकर्ता डा. कृष्ण अधिकारी र रिसर्च एसोसिएट नरेश खपाङ्गीमगर सहभागी थिए ।

छलफलमा प्रबन्धक स्टिडस्टनले यसवर्षको जनगणनाको तयारी कसरी भइरहेको छ र त्यसमा समुदायहरुले कसरी सहयोग गर्न सक्छन् भन्ने बारेमा जानकारी दिएकी थिइन् । यसपटकको जनगणनामा अनलाइनमा जोड दिइएको बताउँदै उनले अनलाइनमा पहुँच नभएका र अंग्रेजी भाषामा सहयोग आवश्यक भएकाहरूलाई सहयोगका विभिन्न उपायहरुको व्यवस्था गरिएको बताइन् । उनले मार्च महिनाको सुरुवातदेखि हरेक घरमा जनगणनामा भाग लिनका लागि संकेत सहितको पत्र प्राप्त हुने र जनगणनाको वेभसाइटमा गएर आफ्नो आफ्नो परिवारको विवरण भर्न सकिने जानकारी दिइन् ।

अनलाइन फाराम भर्न नसक्ने अवस्थामा कागजकै फाराम झिकाएर जनगणनामा भाग लिन सकिने पनि उनले थपिन् । जनगणनामा नेपाली समुदायलाई लक्षित गरेर फारामको नेपाली भाषामा अनुवाद गरिएको साथै फाराम कसरी भर्ने भन्ने बारेमा नेपालीमा निर्देशिका पनि बनाइएको उनले जानकारी दिइन् । नेपाली समुदायका लागि जनगणनाबारे पर्चा र पोष्टरहरु पनि तयार गरिएको उनको भनाइ थियो । यी सबै सन्दर्भ सामग्री मात्र भएको र फाराम भर्दा अङ्ग्रेजीमै भर्नु पर्ने उनको भनाइ थियो।

यस्तै, नेपाली समुदायका लागि सल्लाहकार समिर गुरुङले नेपाली समुदायमा जनगणनालाई सफल पार्न भइरहेका गतिविधिका बारेमा बताएका थिए । उनले आफ्नो कार्यक्षेत्र तोकिएको ग्रीनवीचमा मात्र सीमित नरही बेलायतका विभिन्न क्षेत्रमा नेपालहरुलाई जनगणनाका बारेमा प्रचारप्रसार गरिरहेको जानकारी दिए ।

ओएनएसका जनसम्पर्क तथा मिडिया टीमका ग्लेन ग्यारेटले नेपाली मिडियाहरुलाई जनगणनाबारे आवश्यक प्रचारप्रसार सामग्री उपलब्ध गराउन आफूहरु तत्पर रहेको बताए ।
सिएनएस युकेका डा. अधिकारीले आफ्नो संस्थाले जनगणनाको क्षेत्रमा बेलायतमा गर्दै आएको कामको बारेमा जानकारी गराएका थिए । उनले सन् २००८ मा संस्थाले जनस्तरमा जनगणना सञ्चालन गरी पुस्तक, लेख प्रकाशन गरेको बताए । बेलायतको राष्ट्रिय जनगणनामा नेपाली समुदायको सहभागिताका लागि सन् २०११ मा पनि ओएनएससितको सहकार्यमा अभियान चलाएको उल्लेख गर्दै ओएनएसले सीएनएसयुकेको कामको गरेको कदर र प्रशंसा गरेकोमा धन्यवाद व्यक्त गरे ।

यसपटकको जनगणनामा पनि सो कार्य जारी राख्ने बताए । उनले यसपटकको जनगणनाका बारेमा नेपाली समुदायलाई जानकारी दिन बेलायतमा रहेका नेपाली समुदायको राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिने जानकारी दिए ।

सिएनएस युकेका रिसर्च एसोसिएट नरेश खपाङ्गीमगरले जनगणनामा बेलायतमा बसोबास गर्ने नेपालीहरुको धेरैभन्दा धेरै सहभागिताका लागि सिएनएस युकेले कार्य गरिरहेको बताए ।
सिएनएस युकेले आयोजना गर्ने कुनै कार्यक्रममा ओएनएसको तर्फबाट कुनै सूचना र सहयोग चाहिए ओएनएस सो प्रदान गर्न प्रतिवद्ध रहेको जानकारी गराइएको थियो । छलफलमा बेलायतका विभिन्न भागमा बसिरहेका नेपाली समुदायलाई जनगणनामा आवश्यक पर्ने सहयोगका लागि ओएनएसका सामुदायिक सहभागिता प्रबन्धकहरुको सम्पर्क र ती स्थानका नेपाली समुदायका अगुवाहरुको सम्पर्क स्थापना गर्ने निचोड निकालिएको छ ।
ओएनएसले इङल्याण्ड र वेल्समा हरेक १० वर्षमा जनगणना गर्ने गर्दछ ।