१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायत – नेपाल हवाइ प्रतिबन्ध हट्यो, ५ दिन अनिवार्य होटल क्वारेन्टिन

नेपालब्रिटेन डट कम्
१५ माघ २०७७, बिहीबार १५:३०

लन्डन । नेपाल सरकारले बेलायतबाट नेपाल जाने यात्रुहरु माथि लगाए यात्राको प्रतिबन्ध हटाएको छ ।

बेलायतस्थित ट्राभल कन्सोलका प्रमुख विराज भट्टका अनुसार सरकारले बेलायतबाट नेपाल जाने सबै यात्रुहरुलाई सशर्त नेपाल जान दिने निर्णय गरेको हो। बेलायतबाट नेपाल जाने यात्रुले अनिवार्य रुपमा ५ दिन क्वारेन्टिन बस्नु पर्ने छ ।

भट्टका अनुसार यात्रुहरुले नेपाल जादा लण्डनस्थित विमानस्थलमा होटल बुकिङ्ग, पिसीआर टेष्ट देखाउनु पर्ने छ । यस्तै यात्रुहरुले आफ्नो यात्राको विवरण लण्डनस्थित नेपाली राजदूतावासलाई अनिवार्यरुपमा जानकारी दिनु पर्ने छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियेन्ट’ फेला परेपछि एक महिनाअघि नेपाल सरकारले यात्रामा प्रतिबन्ध लगाएको थियो ।

यसैबीच लण्डनस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यात्राबारे विस्तृत जानकारी दिएको छ ।


विज्ञप्ति जस्ताको तस्तै

विदेशबाट नेपाल प्रस्थान गर्ने यात्रुहरुको लागि अत्यन्त जरुरी सूचना

कोभिड-१९ को नयाँ भेरियन्ट (SARS-CoV-2 VUI 2020/12/01) संक्रमण भएका संयुक्त अधिराज्य लगायतका मुलुकबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण यात्रीहरुको क्वारेन्टिन, स्वास्थ्य सुरक्षा तथा परीक्षणको आवश्यक व्यवस्थापन गरी महामारी नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको मिति २०७७।१०।११ को निर्णयानुसार तत्कालै लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश, २०७७’ जारी गरिएको छ । उपरोक्त आदेशानुसार अबउप्रान्त संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुहरुले देहायबमोजिमको व्यवस्था अनिवार्य पालना गर्नुहुन सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।
१) संयुक्त अधिराज्यबाट नेपाल प्रस्थान गर्ने सम्पूर्ण यात्रुले यात्रा गर्नु अघि आफूले यात्रा गर्ने मिति तथा हवाई उडान सम्बन्धी विवरण (Flight details) अनिवार्य रुपमा यस राजदूतावासको इमेल [email protected] मा उपलव्ध गराउनु पर्नेछ ।
२) हवाई मार्गबाट नेपाल प्रस्थान गर्ने सम्पूर्ण यात्रुले यात्रा गर्नु अघि स्वाब संकलन भएको बहत्तर घण्टा भित्रको सम्बन्धित देशको स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरेको कोभिड-१९ परीक्षण नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा साथमा लिनु पर्नेछ ।
३) विदेशबाट नेपाल आगमन गर्ने यात्रुले यात्रा गर्नु अघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाईट (www.ccmc.gov.np) मा रहेको Abroad Returnee Management System अनलाइन फाराम अनिवार्य रुपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जानुपर्नेछ ।
४) कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण भएका संयुक्त अधिराज्य लगातयका मुलुकबाट प्रस्थान गर्ने सबै यात्रुले हवाई टिकट खरिद गर्नु अघि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा क्वारेन्टिनका लागि अनिवार्य रुपमा बुक गरेको हुनुपर्ने । सम्बन्धित वायु सेवाले Check-inगर्दा अनिवार्य रुपमा होटल बुकिङ गरेको प्रमाण हेर्ने भएकोले बुकिङ गरेको प्रमाण लिएर यात्रा गर्नु पर्ने । होटल बुकिङको खर्च सम्बन्धितले व्यहोर्नु पर्नेछ ।
यसरी होटल क्वारेन्टिनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोभिड-१९ परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप पाँच दिन Home Quarantine मा रहने गरी गन्तब्यमा जान सक्ने एवं कोभिड-१९ को परीक्षण नगर्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा अनिवार्य रुपमा रहनु पर्नेछ ।
५) गैरआवासीय नेपालीहरु तथा विदेशी नागरिकहरुले अनिवार्य रुपमा यस दूतावासबाट भिसा लिई मात्र यात्रा गर्नुपर्नेछ । हाल बेलायतमा घोषणा भएको राष्ट्रिय लकडाउनका कारण भिसा लगायतको सुविधाका लागि अर्को व्यवस्था नभएसम्म https://nepaliport.immigration.gov.np/onlinev…/application मा गई अनलाइन भिसा आवेदन फाराम भरी सक्कल राहदानी, भिसावापतको शुल्कको लागि Postal order एवं Prepaid envelope सहित हुलाकमार्फत यस राजदूतावासमा आवेदन गर्नुहुन समेत अनुरोध गरिन्छ ।
६) नेपाली नागरिक र नेपालसँग सीमा जोडिएका छिमेकी मित्रराष्ट्रका नागरिक वाहेक अन्य विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएकोले उक्त रुट भई यात्रा नगर्नु हुन समेत अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास,
लण्डन
मिति: २०७७।१०।१५ (२८ जनवरी २०२१)