१३ बैशाख २०८१, बिहीबार
Follow Us

आर्मी च्याम्पियन

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७७, शनिबार १२:५४

काठमाडौं । चौंथो प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय टिम सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफले ४१ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७८ रनमात्र बनाउन सक्यो । एपीएफका लागि आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७१ बलको सामना गर्दै ६१ रन जोडेका हुन् । शंकर रानाले २१ रन र सुमित महर्जनले १९ रन बनाए । अन्य ब्याट्सम्यान खासै जम्न सकेनन् ।

आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३–३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । राजेश पुलामीले २८ रन र लोकेश बमले १५ रन बनाए ।

एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १–१ विकेट लिए ।