८ बैशाख २०८१, शनिबार
Follow Us

पुरुष प्रजनन क्षमतामा कोभिड प्रभाव बारे विज्ञबीच मतमतान्तर

नेपालब्रिटेन डट कम्
१८ माघ २०७७, आईतवार ०४:४०

लण्डन । कोभिड–१९ बाट गम्भीर बिरामी भएका पुरुषको शुक्रकीटको गुणस्तर प्रभावित हुने र पुरुष प्रजनन क्षमतामा समेत प्रभाव पर्न सक्ने एक अध्ययनले देखाएको छ । मेडिकल जर्नल ‘रिप्रोडक्सन’ मा बिहीबार प्रकाशित रिपोर्टमा यसबारे उल्लेख गरिएको छ ।

‘अध्ययनले पहिलोपटक कोभिड–१९ को प्रभाव पुरुषको शुक्रकीटमा पार्ने प्रत्यक्ष प्रमाण उपलब्ध गराएको छ र यसले पुरुषको शुक्रकीट र प्रजनन सम्भावनलाई कमजोर बनाउन सक्ने देखिएको छ’– उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सहभागी नभएका कतिपय विज्ञले भने सो नतिजाप्रति सन्देह व्यक्त गरेका छन् र तत्काल निष्कर्षमा पुग्न तथा नतिजालाई समग्रतामा हेर्न नहुने तर्क गरेका छन् ।

कोभिड–१९ को संक्रमण नभएका पुरुषको तुलनामा संक्रमितको शुक्राणु कोषिकामा अत्यधिक सुजन (इन्फ्लेसन) भएको देखिएको छ । विज्ञले यो अध्ययनको निष्कर्षलाई सावधानीपूर्वक लिन सुझाव दिएका छन् । ‘तथ्यांक विवेचनाको हिसाबले निष्कर्षमा पुगिहाल्न कठिन हुन्छ । उदाहरणका लागि प्रतिवेदनमा लेखकले तथ्यांकले कोभिड–१९ संक्रमणका कारण पुरुषको प्रजनन क्षमतामा महत्वपूर्ण प्रभाव पार्ने बताएका छन् तर अध्ययनले यो विषय एकापसमा सम्बन्धित रहेको मात्र देखाएको छ’– बेलायतको दक्षिण योर्कसायरमा रहेको युनिभर्सिटी अफ सेफिल्डका पुरुषविज्ञान (एन्ड्रोलोजी) विषयका प्राध्यापक एलान पासेले भने ।

केही अध्ययनले कोभिड–१९ संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पर्ने देखाएका छन् भने कतिपय विज्ञले यसबारे लामो समयसम्मको अध्ययन आवश्यक पर्ने र अहिले नै निष्कर्ष निकाल्नु हतारको काम हुने टिप्पणी गरेका छन् ।

यस्तै इम्पेरियल कलेज लन्डनका रिप्रोडक्टिभ इन्ड्रोक्राइनोली तथा एन्ड्रोलोजी विषयका प्राध्यापक डा छाना जयाशेना पनि यसमा शंका व्यक्त गर्छन् । ‘फ्लु जस्तो भाइरसका कारण बिरामी हुदा शुक्रकीटको संख्या केही साता तथा महिनासम्म अस्थायीरूपमा घट्छ र शून्यमा समेत पुग्न सक्छ तर यो ह्रास आउनुका पछाडि कोभिड–१९ कति जिम्मेवार छ भन्ने कुरा महत्वपूर्ण हो’– उनी भन्छन् ।

बेलायतस्थित इन्टरनेसनल सेन्टर फर लाइफअन्तर्गतको न्युक्यासल फर्टिलिटी सेन्टरका प्रमुख एलिसन मुर्डोच भने कोभिड–१९ को प्रभाव विर्यमा नपरेको दाबी गर्छन् । ‘अहिलेसम्म कोभिड–१९ भाइरसले विर्यमा प्रभाव पारेको देखिएको छैन । विर्यमार्फत कोरोना भाइरस सरेको पनि प्रमाणित भएको छैन’– उनी भन्छन् ।

अध्ययनमा कोभिड–१९ संक्रमण भएका तथा प्रजनन क्षमता राख्ने ८४ पुरुष र संक्रमण नभएका १ सय ५ पुरुष सहभागी थिए । प्रत्येक १० दिनको अन्तरमा कुल ६० दिनसम्म उनीहरूको विर्य अध्ययन गरिएको थियो । अध्ययनले कोभिड–१९ संक्रमित नभएका पुरुषको तुलनामा संक्रमित पुरुषको शुक्राणु कोषिकामा अत्यधिक सुजन (इन्फ्लेसन) र तनाव सिर्जना हुने देखाएको छ । ती पुरुषको शुक्राणु घनत्व, गतिशीलता र आकारलाई भाइरसले नकारात्मक प्रभाव पारेको देखिएको थियो । कोभिड–१९ का गम्भीर बिरामीमा यो झन् बढी देखिएको थियो ।

‘शुक्राणु कोषिकामा पर्ने यो प्रभावले शुक्राणुको गुणस्तर र प्रजनन क्षमतामा प्रभाव पर्ने देखिएको छ । तर समयक्रमसँगै यस्ता नकारात्मक प्रभावमा सुधार हुने भए पनि कोभिड–१९ का गम्भीर बिरामीमा यस्तो प्रभाव अत्यधिक हिसाबले उच्च देखिएको छ’– अध्ययनका प्रमुख अनुसन्धानकर्ता तथा जर्मनीका जस्टुस लिविग विश्वविद्यालयका पिएचडीका विद्यार्थी बेजाड हैजाडे मालेकीले भने ।

यसैगरी कोभिड–१९ संक्रमित पुरुषमा कोरोना भाइरस मानव कोषमा प्रवेश गर्न सजिलो पार्ने ‘एसिइटु’ इन्जाइमको सक्रियता पनि वृद्धि भएको अध्ययनले देखाएको छ । हुम्यान फर्टिलिटी नामक जर्नलको सम्पादकसमेत रहेका प्राध्यापक एलान पासेका अनुसार एसिइटु रिसेप्टर पुरुष अण्डकोषमा पनि पाइने भएकाले कोभिड– १९ ले पुरुष प्रजनन प्रणालीमा प्रभाव पार्नु आश्चर्यको विषय होइन । उनले कोभिड–१९ महामारी सुरु भएयता पुरुष प्रजनन क्षमतामा यसले कस्तो प्रभाव पार्छ भन्नेमा सबैको जिज्ञासा रहेको र सिद्धान्ततः त्यो सम्भावना रहेको सबैले स्वीकार गरेको पनि बताए । उनले यो विषयमा प्रकाशित गरिएका १४ अध्ययन प्रतिवेदनले कोरोना भाइरसले पुरुष प्रजनन क्षमतामा ‘केही मात्रामा र अस्थायी’ प्रभाव रहेको देखाएको बताए ।

अध्ययनले कोभिड–१९ र पुरुष प्रजनन क्षमतामा अन्तर्सम्बन्ध देखाउनुमा भाइरस संक्रमितले विभिन्न औषधि प्रयोग गर्ने भएकाले पनि हुने सक्ने विज्ञको तर्क छ । उक्त तर्कलाई अध्ययनकर्ताले पनि स्वीकार गरेका छन् । ‘शुक्राणुको गुणस्तर ज्वरो आएका कारण प्रभावित भएको हुन सक्छ । हामीलाई के थाहा छ भने जुनसुकै कारणले आएको ज्वरो भए पनि यसले शुक्राणु उत्पादनमा प्रभाव पार्छ’– पासे थप्छन् ।

आयरल्यान्डमा रहेको क्विन्स विश्वविद्यालयकी सेवानिवृत्त प्राध्यापक सिना लेविस भन्छिन्– ‘कोभिड–१९ बाट प्रभावित पुरुषमा अत्यधिक तौल रहेको र उनीहरूले धेरैखाले औषधि सेवन गर्ने भएकाले नतिजा त्यस्तो देखिएको हुन सक्छ ।’ उनी थप्छिन्– अत्यधिक तौलले शुक्राणुको गुणस्तरमा प्रभाव पार्छ । कोभिड–१९ मात्र नभई उपचारले पनि यस्तो भएको हुन सक्छ ।

न्युक्यासलका मुर्डोच निष्कर्षमा भन्छन्– यो विषयको निष्कर्षमा पुग्न लामो अवधिसम्म अध्ययन जरुरी छ ।