१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोनाको ‘यूके भेरियन्ट’ विरुद्ध नेभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी

नेपालब्रिटेन डट कम्
१८ माघ २०७७, आईतवार ०५:०६

लन्डन । बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरसविरुद्धको नेभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । कोरोनाको ‘यूके भेरियन्ट’ का लागि झन्डै १५ हजार व्यक्तिमा दुई डोज दिई गरिएको तेस्रो चरणको ट्रायलमा खोप ८६ प्रतिशत प्रभावकारी देखिएको खोप निर्माता कम्पनी नोभाभ्याक्सले दाबी गरेको छ । नोभाभ्याक्स अमेरिकी खोप निर्माता कम्पनी हो ।

समग्रमा भने खोपको प्रभावकारिता ८९.३ प्रतिशत रहेको बताइएको छ । १८–८४ वर्ष उमेर समूहमा गरिएको ट्रायलमा सहभागी भएकामध्ये २७ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथि थियो । ‘अफ्रिकन भेरियन्ट’ का लागि भने उक्त खोप ६० प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । कम्पनीका कार्यकारी अधिकृत स्टान इर्कले बीबीसीसँग भनेका छन्, ‘बेलायतमा ठूलो स्केलमा गरिएको खोप ट्रायलको नतिजा निकै शानदार रह्यो । जुन हामीले सोचेभन्दा धेरै माथि हो ।’ अफ्रिकन भेरियन्टका लागि पनि मानिसहरूले सोचेभन्दा खोप प्रभावकारी देखिएको उनको भनाइ छ ।

नोभाभ्याक्सबले इंग्ल्यान्डको पूर्वी–उत्तरी क्षेत्र स्टोक्टन अन टिजमा खोप निर्माण गरिरहेको छ । बेलायतले ऊसँग यसअघि नै ६० लाख मात्रा खोप किन्ने सम्झौता गरेको छ । बेलायतको मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) ले उक्त खोप प्रयोगको अनुमति दिए सन् २०२१ को मध्यसम्ममा सबै मात्रा उपलब्ध हुने सरकारले विश्वास लिएको छ । अहिले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका, फाइजर र बायोएनटेक तथा मोडेर्नाको खोप कोरोना भाइरसविरुद्ध आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

खोप ट्रायलको नतिजापछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सुखद खबर आएको प्रतिक्रिया दिएका छन् । औषधिसम्बन्धी नियामक निकायले यस सम्बन्धमा थप नियमन गर्ने उनले बताएको बीबीसीले लेखेको छ । हेल्थ सेक्रेटरी म्याट हानककले नयाँ भाइरससँगको लडाइँमा अर्को हतियार थपिएको जनाएका छन् । अनुसन्धानकर्ता र खोप ट्रायलमा सहभागी स्वयंसेवकलाई धन्यवाद दिँदै उनले भनेका छन्, ‘म गौरव गर्छु कि नयाँ चिकित्सकीय खोजमा बेलायत अग्रपंक्तिमा उभिएको छ ।’