१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तमु ल्होछार हर्षोल्लासका साथ मनाइदै

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार ०४:५१

काठमाडौं । बौद्धधर्म अन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौंँ उपत्यकालगायत गुरुङ बाहुल्यता क्षेत्रमा हर्षोल्लासका साथ मनाइदैछ । गुरुङ समुदायले आज नयाँ वर्षका रुपमा २५९९ औं चरा अर्थात झ्या ल्होछार मनाउन लागिएको हो ।
गुरुङ जातिले हरेक वर्ष पूष १५ मा तमु ल्होछार मनाउँने गर्दछन् । नयाँ वर्ष प्रारम्भ हुने दिन ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रत्येक १२ बर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ जातिले बाँदर वर्गको बिदाइ गरेर चरा अर्थात झ्याल्हो वर्गलाई स्वागत गरिदैछ । यो पर्वमा गुरुङ गाउँहरुमा गुनियो–चोली र भोटो–कछाड लगाएका गुरुङ बुढापाका र युवायुवती तथा बालबालिकाहरु नाचगान गरि स्योँकै खाई मनाउँदछन् । पहिले पहिले नाचगानमा मात्र सीमित रहने ल्होछार अहिले भने गुरुङहरुले सांस्कृतिक जागरणका रुपमा लिंदै बहस, अन्र्तक्रिया र विभिन्न चेतनामूलक कार्यक्रमहरु गरी मनाउन थालेका छन् ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र आँशीमाला अर्थात शुभकामना आदानप्रदान गरिन्छ । पुस १५ गतेदेखि रात छोटिदै जाने र दिन लामो हुने विश्वासमा तमु ल्होछार मनाउन गरिएको गुरुङ अगुवाहरु बताउँछन् । तामाङलगायतका जातिले भने माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरेका छन् भने शेर्पा,भोटे र तिब्बती मूलका समुदायले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार छ । राम्रो लगाउने र मीठो खाने दिनका रूपमा प्रचलित गुरुङ समुदायको सांस्कृतिक पर्व तमु ल्होछारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । यसअवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिदैछ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।
यसैबीच तमु ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री पुष्पकमल दाहाल सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिनुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले सिङ्गो नेपाली संस्कृतिभित्र रहेको तमु गुरुङ संस्कृति आफैँमा मौलिक, समृद्ध र पृथक रहेको उल्लेख गर्दै यस पर्वले सबै नेपालीबीच आपसी एकता, सद्भाव, सहिष्णुता कायम भई समृद्ध मुलुकको रचना गर्न सकियोस् भनि कामना गर्नुभएको छ ।