८ बैशाख २०८१, शनिबार
Follow Us

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार ०५:०१

पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिनुभयो ।
आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुग्न गएको बताइएको छ ।
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजना सुरु गरिएको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाको आज उद्घाटन गर्ने कार्यक्रम छ ।