८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्र जोगाउने चिन्ता काँग्रेसलाई : वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार १२:२६

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राष्ट्र जोगाउने चिन्ता काँग्रेसमाथि आइपरेको बताउनुभएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला एवम् अधिवेशनको आज यहाँ उद्घाटन गर्दै राष्ट्र र लोकतन्त्रप्रति नंै षड्यन्त्र भइरहेकाले यी दुबैको अस्तित्व जोगाउने जिम्मा काँग्रेसको काँधमा आएको छ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले वामपन्थी र दरवारीयाहरुले धेरै भ्रम फिजाए पनि नेपाली काँग्रेस भने राष्ट्रियता र प्रजातन्त्रको आदर्शमा अटुट रुपमा अघि बढेको विचार व्यक्त गर्दै असल चरित्र, संस्कार र धर्मको बाटोमा अघि बढे काँग्रेसलाई कहिल्यै पनि कसैले पराजित गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।

मधेसवादी दलहरुको असन्तुष्टीलाई मिलाएर लैजाने चिन्ता पनि काँग्रेसमा रहेको बताउँदै उहाँले राष्ट्र र जनताको सेवकरुपमा काम गर्न पशु स्वास्थ्य सेवाका प्राविधिकलाई निर्देशन पनि दिनुभयो । वरिष्ठ नेता पौडेलले कर्मचारीको पेसागत हकहितका लागि काँग्रेस सधँै साथमा रहने बताउँदै देशमा कृषि र पशुपालन क्षेत्रमा अपार सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।

धेरै युवा विदेशवाट सिकेको सीप र ज्ञान प्रयोग गर्दै व्यावसायिक रुपमा यस क्षेत्रमा लागेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा सांसद शारदा पौडेल र बद्री पाण्डेले पशु प्राविधिकले जनताको घरघरमा गई उनीहरुको आर्थिक उन्नति गराउन बढी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्घका पश्चिमान्चल संयोजक प्रताप पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय महासचिव सुरेश श्रेष्ठ र सल्लाहकार हिमालय बख्रेललगायतले पशु स्वास्थ्य सेवाका समस्या र चुनौतीको विविध पक्ष माथि प्रकाश पार्नुभयो ।