१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायत कांग्रेस स्वतः बिघटन

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार १४:२७

लन्डन । बेलायतस्थित नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति यूके स्वतः विघटनको संघारमा पुगेको छ । ३ बर्षअघि लोक गुरुङको नेतृत्वमा चयन भएको कार्यसमितिको म्याद माउ पाटी नेपाली कांग्रेसले नथपेपछि स्वतः विघटनको संघारमा पुगेको हो । यद्यपि विघटन भएको औपचारिक घोषणा पार्टीले गरेको छैन । तर, महामन्त्री शिव तिमल्सिनाका अनुसार समितिको म्याद १५ डिसेम्बरमा सकिएपछि पार्टी कार्यालयले अर्को परिपत्र गरेको छैन् ।

निर्वाचित कार्यसमितिको बैधानिक मिति सकिएपछि पार्टीले डिसेम्बर १५ सम्म लोक गुरुङ नेतृत्व कार्यसमितिको म्याद थपेको थियो । गुरुङ नेतृत्वले अर्को अधिवेशन गर्न चासो नदेखाएपछि अब वैधानिकता रहेन तिमल्सिनाले भने, ‘अब पार्टी कार्यालयको निर्देशन बमोजिम समिति अगाडी बढ्छ ।’ उनले भने, ‘नयाँ अधिवेशनको विकल्प छैन्, तर्दथ समिति गठन गरेर अधिवेशनको मिति तोकिने छ ।’

गुट उपगुट र ब्यक्तिपिच्छेका समिति गठन गर्दै हिड्ने प्रबृत्तिका कारण नेपाली जनसम्पर्क समिति यूके विगत १० बर्षदेखि लगातार विवादमा रहेको यसलाई नजिकबाट नियाल्नेहरु बताउँछन् ।

बेलायतस्थित नेपाली समाजका अगुवा तथा कांग्रेस नेता चिरञ्जीवी ढकालले नेपाली कांग्रेस पार्टीले नै बेलायतस्थित नेपाली जनसम्पर्क समितिलाई बेवस्था गरेको आरोप लगाए । यो उदेगलाग्दो कुरा हो, विश्वमा छरिएका रहेका नेपाली कांग्रेसप्रति आस्थावानहरुको साझा संस्था नेपाली जनसम्पर्क समिति अस्थित्व नै समाप्त हुने अवस्था आयो । यो दुःखद् र सोचनीय पक्ष हो । ढकालले भने, ‘संस्था नै कोल्याप्स हुन पुग्नु बेलायतमा रहेका नेपाली कांग्रेसका अग्रज तथा कार्यकर्ताका लागि योभन्दा लाजमर्दो बिषय अर्को हुनसक्दैन ।’