१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भक्त गुरुङ नेतृत्वको नेकपा बेलायत नै आधिकारिक भएको दावी

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७७, आईतवार २०:२३

भक्त गुरुङद्धारा एनआरएनए आइसीसी सदस्य परित्याग

लन्डन । नव गठित प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष भक्त गुरुङले नेपालमा आगामी वैशाखमा तोकिएको मितिमै चुनाव हुने र चुनावले नै अहिलेको संकटबाट देशलाइ निकास दिने विश्वास व्यक्त गरेका छन्।

आइतबार भर्चुएल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले अदालतको फैसला सबैले मान्नु पर्ने बताउंदै अदालतले पनि प्रधानमंत्री के पी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई नै सही ठह-याउने आफुहरुको विश्वास रहेको बताए।

एक प्रश्नको जवाफमा गुरुङले आफ्नो संगठन नेपालको कुनै दलको भ्रातृ संस्था नभएको तर प्रधानमंत्री ओलीको विकास र समृद्धिको सपनाबाट आफुहरु अभिप्रेरित भएको बताए।

नेपालमा नेकपा विभाजित भए पछि उक्त दल निकट प्रवासी नेपाली एकता मंच युके पनि विभाजित भएको छ।

कार्यक्रममा गुरुङले १२५ सदस्यीय कार्य समितिको घोषणा गरेका थिए। उनले आफ्नो संगठनलाई बेलायतस्थित बहुसंख्यक साथीहरुको समर्थन रहेको बताउंदै आफुहरु नै आधिकारिक रहेको दावी गरे।

स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका महासचिव तुङ्गभद्र भुषालले गत ७ फेब्रुअरीमा बसेको वृहत् भेलाले मंचको पुनर्गठन गरेको जनाए। उनले अर्को कमिटिमा गुटगत नेतृत्वमा रमाउने प्रवृत्ति रहेको आरोप लगाए।

कार्यक्रममा तत्कालिन प्रवासी नेपाली मंच युकेका पूर्व अध्यक्षहरु सुरेन्द्र थपलिया, दिनेश घिमिरे र रामशरण सिम्खडाले पनि उठेका प्रश्नहरुको जवाफ दिएका थिए।

यस अघि शनिबार बेलुका एक छुट्टै पत्रकार सम्मेलन गरी नेकपाको प्रचण्ड – माधव नेपाल समूह नजिक प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले आफुहरु नै आधिकारिक संगठन भएको जनाएका थिए। उनले भक्त गुरुङलाई संस्थाको साधारण सदस्यबाट समेत निस्काशित गर्न सिफारिस गरिएको जनाएका थिए।

तर गुरुङले त्यस्तो सिफारिसको कुनै अर्थ नरहने बताए। एनआरएनएका मनोनित केन्द्रिय सदस्य रहेका उनले आफुले अब एनआरएनएमा समय दिन न पाउने भएकाले आफ्नो सदस्यता स्थगित गरि दिन अनुरोध गर्ने पनि जनाएका थिए।

कार्यक्रमको संचालन संस्थाका महासचिव सुरेशजंग शाहले गरेका थिए।