१३ बैशाख २०८१, बिहीबार
Follow Us

चेल्सी उक्लियो चौथो स्थानमा

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७७, मंगलवार ०३:२७

लन्डन । न्युकासल युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको चौथो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र टिमो वेर्नरले एक एक गोल गरे । यो खेलमा गोल गरेपछि चेल्सीका जर्मन खेलाडी वेर्नरले १४ खेल लामो गोलको खडेरी तोडेका छन् ।

पछिल्लो १४ खेलमा उनले गोल गर्न सकेका थिएनन् । चेल्सीको यो जित नयाँ प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा लगातार चौथो जित हो । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले शेफिल्ड युनाईटेडलाई ३–० ले हराएको छ । जितपछि वेष्ट ह्याम युनाइटेड २४ खेलबाट ४२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान ४२ अंक जोडेको चेल्सी गोल अन्तरको आधारमा चौथो स्थानमा छ ।

४० अंक मात्रै जोडेको लिभरपुल भने छेटौं स्थानमा झरेको छ । प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको २३ खेलबाट ५३ अंक छ । २४ खेलबाट ४६–४६ अंक जोडेका म्यान्चेस्टर युनाइटेड र लेष्टर सिटी क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।