७ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रमिकको अनुहार हेरेर काम गरौं : डा. हेम राज शर्मा, महासचिव, एनआरएनए

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७७, सोमबार १८:१५

काठमाडौं । केहीदिनयता एनआरएनए मध्यपूर्व शान्त अवस्थामा छैन्। दातृसंस्थाले श्रमिक उद्धारको लागि सहयोगस्वरुप दिएको पैसा एनआरएनए एनसीसीका जिम्मेवार व्यक्तिले नै हिनामिना गरेको खबरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

सुरुमा यो विषय एनसीसी यूएईसँग जोडियो । यूएईमा निकै ठूलो रकम दुरुपयोगको आरोप छ । अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई श्रमिक उद्धारको नाममा चरम आर्थिक घोटला गरेको आरोप लागेकाे छ । यद्यपी सामाजिक सञ्जालमा बाहिर आएका यी आरोपमा सत्यता छ छैन त्यो भने आधिकारिक रुपमा पुष्टि नभइसकेको अवस्था छ।

दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा व्यापक बनाइएपछि आइसीसी पनि दवावमा पर्यो । त्यसपछि आइसीसीले निष्पक्ष छानविनका लागि समिति गठन गर्यो । र, भन्यो, ‘यदी साँच्चिकै गल्ति भएको रहेछ भने कसैलाई छाड्दैनौँ, कारवाही गरिन्छ ।’

उता अध्यक्ष कोइरालले भने ‘खाएको विष पो लाग्छ । नखाएको विष लाग्छ र ? भन्दै आफूले एक पैसा पनि दुरुपयोग नगरेको दावी गर्दै आएका छन् । अहिले यो विषयमा सुक्ष्म ढंगले छानविन भइरहेको आइसीसीको भनाइ छ । कोइरालाले पनि आफूले छानविनमा सहयोग पुर्याउने बताएका छन्।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले दातृसंस्थाको सहकार्यमा कोभिड–१९ राहत,व्यवस्थापन तथा उद्धार कार्यक्रममार्फत विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएको छ। यही कार्यक्रममार्फत नै खाडीका विभिन्न मुलुक तथा मलेसियामा अलपत्र श्रमिकलाई हवाइ टिकटको व्यवस्था मिलाएर स्वदेश ल्याइएको थियो । त्यस्तै घर फर्काउने वातावरण नमिल्दासम्म विदेशमै खानाको पनि व्यवस्था गरिएको थियो।

राहत, व्यवस्थापन र उद्धार कार्यक्रम अहिले पनि चलिरहेको छ । तर, कार्यक्रम नसकिंदै धमाधम अनियमितताको आरोप आउन थालेका हुन् । यूएईको प्रकरण टुंगोमा नपुग्दै साउदीमा पनि सोही प्रकृतिको आरोप उब्जेकाले अहिले मध्यपूर्व मात्र नभइ सिंगो एनआरएनए वृत्त तरंगित छ।

एनसीसी साउदीले यसबारेमा पत्रकार सम्मेलनको आयोजना गरेर आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेको छ । आरोप लागेपछि आइतबार बेलुका आकस्मिक रुपमा पत्रकार सम्मेलनकाे आयोजना गरेर आपत्ति जनाएको हो। उसले आर्थिक घोटला गरेको प्रमाण देखाउन चुनौती समेत दिएको छ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष तेजबहादुर थापाले एनआरएनए साउदीको बदनाम गर्न गलत प्रचार गरिएको दावी गरेका थिए । आफूहरुप्रति भ्रामक आरोप लगाइएको उनको दावी छ । ‘साउदी अरबमा संचालित संघका परियोजनामा हामी निकै जिम्मेवार र पारदर्शी छौँ,’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भनेका थिए, ‘आरोप सप्रमाण पुष्टि गर्नुहोस्, हामी हदैसम्मको सजाय भोग्न तयार छौँ ।’

बचाउमा उत्रिए केन्द्रिय महासचिव

यूएई घोटला प्रकरण अहिले पनि छानविनकै क्रममा छ । साउदीको विषयमा भने एनआरएनए आइसीसीले अहिलेसम्म आधिकारिक रुपमा मुख खोलेको छैन् । आफूमाथि लागेको आरोप भ्रामक र तथ्यहिन भएको साउदीको दावी छ । यसमा आइसीसीले कस्तो कदम चाल्ने हाे त्यो हेर्न बाँकी छ।

तर, संघका महासचिव डा. हेमराज शर्माले भने एनसीसी साउदीको बचाउ गर्दै सान्तवना दिएका छन् । उनले एनसीसी साउदीमाथि लगाइएको आरोप झुटो भएको भन्दै खण्डन गरेका छन्।

महासचिव शर्माले कोरोना कहरमा ज्यानको बाजी लगाएर उद्धारमा खटिएका अभियान्तालाई भष्ट्रचारीको आरोप लगाउँदा आफूलाई औडाह भएको बताएका छन्। उनले उक्त आरोपलाई वेवास्ता गरि आफ्नो काममा लाग्न भन्दै सान्त्वाना समेत दिएका छन् ।

‘आफ्नो ज्यानको बाजी राखेर होरात्र खट्ने साउदीका साथीहरुको पिडा सुनेर औडाह भएर आयो,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘साथीहरु नबिराउनु, नडराउनु । समाज सेवामा लागेपछि हाम्रा छाला गैंडाको जस्तो हुनुपर्छ । ती श्रमिकको अनुहार हेरेर काम गर्नुहोला।’

उनले साउदीका एनआरएन अभियान्ता स्वच्छ छविका भएको बताउँदै अगाडि लेखेका छन्,‘सच्चा र इमान्दार साथीहरुप्रति संघ सधै साथमा रहनेछ, म तपाइहरुको साथमा उभिनेछु ।’

शर्माले आफ्नो व्यक्तिगत स्वार्थ बोकेर गैरआवासीय संघमा छिरेका व्यक्तिलाई लक्षित गर्दै उनीहरुप्रति सहनशीलता नरहने पनि लेखेका छन् ।