७ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजारानीको जवान प्रेम (रोमान्टिक भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७७, मंगलवार ०४:२५

काठमाडौं । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाहले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कोमल शाहको ७० औं जन्मोत्सव मनाउने क्रममा झापाको होटल मेची क्राउन पुगेका राजपरिवारका सदस्यहरुसहित राजारानी छमछमी नाचेको भिडियो भाइरल भएको हो ।

‘शुभकामना भरी हरेक श्वासमा’ भन्ने गीतमा पूर्व राजा र रानीले खुशी साथ प्रेमपूर्वक नाचेका छन् । ७० वर्षको उमेरमा पनि पूर्व राजारानीले प्रेमभावमा उन्मुक्त भएर नाचेका छन् । उनीहरुको यो भिडियो युवराज्ञी हिमानी शाहले सामाजिक सञ्जालमा सेयर गर्नुभएको थियो । उक्त गीत कोमलकी आफ्नै दिदी स्वर्गीय रानी चाँदनी शाहले लेख्नुभएको थियो भने उक्त गीतमा स्वर स्वर्गीय तारादेवीले दिनु भएको हो ।

राजपरिवारका नजिकका सदस्यहरु सहित ६० जना भन्दा बढी पूर्वरानी कोमलको जन्मोत्सव मनाउन होटल मेची क्राउन पुगेका थिए । राजपरिवारका सदस्यहरुले लाइभ ब्यान्डमा ‘सम्झना विर्सना सलल’ भन्ने गीतमासमेत सामूहिक नृत्य गरेका थिए । उनीहरु निकै खुशी देखिन्थे ।

पूर्वयुवराज्ञी हिमानीले सेयर गरेको राजपरिवार नाचेको भिडियो करिब ७२ हजारले हेरेका छन् । ४ सय ७४ जनाले रिट्विट गरेका छन् भने ९९ जनाले कमेन्ट र ४६ सयले लाइक गरेका छन् । उक्त भिडियोमा सकारात्मक र नकारात्मक दुवै खालमा प्रतिक्रियाहरु आएका छन् ।

उक्त जन्मोत्सव कार्यक्रममा पूर्व युवराज पारस शाहसमेत सहभागी थिए । लामो समयदेखि परिवारसँग टाढा रहेका पारस होटल मेची क्राउनमा भने परिवारसँगै देखिनुभएको थियो । मंगलबार पारस, कोमल, हृदयेन्द्र र हिमानीको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै हिमानीले ‘जीवन प्रतिशोध लागी होईन, प्रेमका लागी हो, शुभ प्रभात, सबैको दिन सुखमय वितोस्’ भनि सेयर गर्नुभएको छ । एकअर्काबाट टाढा रहेका हिमानी र पारस एउटै फ्रेममा देखिएर फोटो सेयर गर्नुले दुवै जनाको सम्बन्ध सुधार भएको हो कि भन्न सकिन्छ ।

पूर्व राजपरिवार किन पुग्यो झापाको होटल मेची क्राउन ?
बिर्तामोडमा रहेको होटल मेची क्राउन पूर्वको पाँचतारे होटल हो । पूर्व रानी कोमलको जन्मदिन काठमाडौंका यतिका तारे होटलहरुमा नमनाएरराजपरिवार किन झापा पुग्यो भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । कतिले पूर्व राजपरिवारलाई कसैले स्पोनसर गरेर लगेको या होटल आफैले स्पोन्सर गरेको हो कि भन्ने पनि लाग्न सक्छ । तर यसको कारण अर्कै छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पूर्व राजपरिवारका सदस्यहरुहरु पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र पूर्व युवराज्ञी हिमानीसहित उनीहरुको परिवार होटल मेची क्राउन पुगेको थियो । ‘त्यहाँ पहिलो पटक जाँदा उहाँहरु निकै प्रभावित हुनुभयो’ मेची क्राउनका सञ्चालक राज कुमार बस्नेतले भन्नुभयो, ‘त्यसैले पूर्व रानी कोमलको जन्मोत्सव मेची क्राउनमै मनाउन उहाँहरु आउनुभयो ।’