१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसद विघटनको मुद्दा संवैधानिक इजलासको हेर्दाहेर्दैको पेसीमा

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७७, मंगलवार ०४:४९

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ । फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्न सक्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज हेर्दाहेर्दैको पेसी तोकेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमा पक्ष विपक्षका कानून व्यावसायी एवं एमिकस क्यूरीका विज्ञहरुको बहस नोट बुझेपछि अदालतले यो मुद्दालाई हेर्दाहेर्दैको पेसी तोकेको हो । मुद्दामा सकेसम्म छिटो फैसला सुनाउने संवैधानिक इजलासको तयारी छ । बढीमा तीन दिनभित्र सर्वोच्चले फैसला सुनाउने अनुमान गरिएको छ ।

पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले सकेसम्म सर्वसम्मत राय बनाउने प्रयास गर्नेछ । त्यसो हुन नसके मत विभाजनको आधारमा फैसला हुनेछ । तीनभन्दा बढी न्यायाधीशको मतका आधारमा फैसला हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए । ओलीको यो कदम असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।