१५ बैशाख २०८१, शनिबार
Follow Us

तीन दलबीच कुरा मिलेन, संशोधन विधेयक टेबुल नहुने

नेपालब्रिटेन डट कम्
१८ पुष २०७३, सोमबार ०७:४२

काठमाडौं । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई सहमतिमै अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच भएको प्रयास विफल भएको छ । सहमति जुटाउन नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताबीच आज सिंहदरबारमा भएको छलफल दलहरुका आ–आफ्नै अडानका कारण बिना निष्कर्ष टुङ्गिएको छ ।
बैठकमा सत्ता पक्ष दलहरुले प्रमुख प्रतिपक्षी दल एमालेलाई अवरुद्ध संसद् खोल्न गरेको आग्रहलाई एमालेले अस्वीकार गर्दै संशोधनको प्रस्ताव संसद्बाट फिर्ता लिन माग गरेको नेताहरुले बताउनुभएको छ । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको अडान यथावत् रहेको जानकारी दिँदै भन्नुभयो – “सरकारले संशोधनको प्रस्ताव फिर्ता लिनेबित्तिकै संसद् खुल्छ, मुलुक निर्वाचनतिर जान्छ र त्यो राम्रो हुन्छ ।”
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको प्रस्ताव अघि बढाउने सम्बन्धमा टुङ्गो लागिनसकेको बताउँदै सहमतिका लागि वार्ता जारी रहन्छ भन्नुभयो । आज प्रस्ताव संसद्मा टेबल हुन्छ भन्ने जिज्ञासामा उहाँले त्यो सभामुखको कुरा भएको जानकारी दिनुभयो ।
एमाले उपाध्यक्ष वामदेव गौतमले सत्तापक्षबाट अवरोध भएको बताउँदै प्रस्ताव फिर्ता लिए वा स्थगन गरे एमालेबाट भएको अवरोध हट्ने जानकारी दिनुभयो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गतिरोध अन्त्यका लागि सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको बताउनुभयो । “हामी प्रतिपक्षीसँग मुठभेडको स्थिति सिर्जना नहोस् भन्ने चाहन्छौँ । अरु प्रक्रियाका बारेमा संसद्को स्थिति हेरेर सभामुखले अघि बढाउनुहोला” – उहाँले भन्नुभयो ।
बैठकपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सहमतिको प्रयास जारी रहेकाले छिट्टै निकास निस्कने आशा व्यक्त गर्नुभयो ।