April 13, 2021
9:24 PM | 2:09 AM
ताजा खबर

पदयात्रा पर्यटनः आन्तरिकले मात्र टिक्दैनौ, विदेशीको टुंगो छैन

  25/02/2021 मा प्रकाशित

पर्यटन व्यवसायीका अनुसार नेपाल भित्रिएका विदेशी पाहुनामध्ये करिब ७० प्रतिशत कुनै न कुनै क्षेत्रको पदयात्रामा जान्छन् । एकदिनको हाइकिङदेखि महिनादिनसम्मको पदयात्रामा ती विदेशी जाने गरेका छन् । साहसिक र चूनौतिपूर्ण क्षेत्रको पदयात्रामा जानेमा अधिकांश विदेशी पदयात्री नै हुन्छन् ।

कोरोना भाइरस संक्रमणको त्रासले नेपालमा विदेशी पर्यटक आउन नपाएको करिब वर्षदिन पुग्नै लागेको छ । विदेशी पाहुना आउन नपाएपनि पछिल्लो समय आन्तरिक पर्यटकको भरमा पर्यटन क्षेत्रमा केही चहलपहल भने सुरु भएको छ । तर, विदेशी पर्यटकलाई साहसिक पदयात्राका गन्तव्यमा पठाएर व्यवसाय धानेका पदयात्रा व्यवसायी भने आन्तरिक पाहुनाबाट लाभ पाउन सक्ने अवस्था नभएको बताउँछन् ।

पदयात्रा व्यवसायीका अनुसार आन्तरिक पाहुनाले अझै साहसिक पदयात्रा गर्न थालेका छैनन् । एकाध पाहुना साहसिक रुटको पदयात्रामा गएपनि ती आन्तरिक पदयात्रीको पदयात्रा विदेशीको जस्तो व्यवस्थित र खर्चिलो हुँदैन । जसोतसो पदयात्रामा जाने ती आन्तरिक पदयात्रीले न साथमा गाइड लैजान्छन, न पोर्टर नै । साथीभाईको समुह बनाएर एकाएक पदयात्रामा निस्केका हुन्छन् । सानो समुह बनाएर पदयात्रामा जाने ती आन्तरिक पदयात्रीले सम्भावित मौसमी र उचाई, पदयात्रा क्षेत्रको भौगोलिक जोखिमबारे पनि हेक्का राख्दैनन् ।

‘आन्तरिक पर्यटनबाट पदयात्रा व्यवसाय धान्न सकिन्न । पाहुना पुग्ने रुटका केही होटल व्यवसायीले आम्दानी गरेपनि त्यसले समग्र पर्यटनमा लाभ दिँदैन,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका पूर्व अध्यक्ष दिपकराज अधिकारी भन्छन्, ‘आन्तरिक पदयात्रीलाई वेवास्ता नै गर्ने भन्ने होइन, पर्यटनमा लाभ नै पुग्दैन भन्ने त मिल्दैन, तर, व्यवस्थित पदयात्रा नगर्ने भएकाले आन्तरिक पर्यटनबाट पदयात्रा व्यवसाय टिक्दैन ।’

पदयात्रा पर्यटनमै लाभ नपुगेपनि समग्र पर्यटन क्षेत्रमा भने आन्तरिक पदयात्रीबाट पनि फाइदा भने हुने उनले बताए । ‘यातायात, होटल, रेस्टुरेन्ट क्षेत्रमा आन्तरिकबाट प्रयाप्त फाइदा हुन्छ । तर साहसिक पदयात्रामा उत्तिसारो नजाने भएकोले लाभ पुग्दैन,’ उनले भने ।

टानका पूर्वअध्यक्ष अधिकारीका भनाईमा आन्तरिक पाहुनाको भरमा पर्यटनका सबै क्षेत्र चल्दैनन् । साहसिक गतिविधि त झनै चल्दैनन् । ‘आन्तरिक पदयात्रीका भरमा केही पदमार्गका होटल चल्छन् । छोटो दुरीका पदयात्रा र सडक सञ्जालले छोएका रुटमा नेपाली पदयात्री जान्छन्,’ उनले भने, ‘तर कठिन र साहसिक मानिएका पदयात्रामा नेपाली हत्तपत्ति जाँदैनन् । साहसिक र च्यालेन्ज फेस गर्ने क्षेत्रमा जाँदैनन् । लामो अवधिको चुनौतिपूर्ण पदमार्गमा त झनै जाँँदैनन् ।’

व्यवसायीका अनुसार साहसिक पदयात्रामा जाँदा विदेशी पदयात्रीले महंगो शुल्क तिरेर गाइड, पोर्टर सहित ठुलो समुहमा सहयोगी लैजान्छन । प्रयाप्त समय लगाएर पदयात्रा गर्छन । बस्ने, खाने ठाउँको पनि अग्रिम टुंगो लगाउँछन् । विश्वासिलो ट्रेकिङ कम्पनिबाट बुकिङ गरेर तालिका बमोजिम पदयात्रामा निस्कन्छन । सम्भावित जोखिम र संचारको पनि हेक्का राख्छन् । तर, आन्तरिक पदयात्रीले भने विदेशीले अपनाएको तरिका छाडेर फिरन्ते शैलीमा पदयात्रामा जाने गरेको उनले बताए ।

आन्तरिक पाहुनाको भरमा पदयात्राको २० प्रतिशत व्यवसाय पनि चल्न गाह्रो हुने उनले बताए । नार, फू, धौलागिरी, तेरिल्ला पास, सिरुवाङ, राउण्ड फेरो जस्ता साहसिक पदयात्रामा जाने आन्तरिक पाहुना कमै हुने उनले सुनाए । ‘चारहजार मिटर उचाईसम्म गाडीमा जान्छन, एकाएक गाडीमा उक्लिँदा हाई अल्टिच्यूडको सकस हुन्छ,’ उनले भने, ‘सामान्य अप्ठेरोको ख्याल पनि आन्तरिकले गरेका हुँदैनन् । अनि समस्यामा पर्छन ।’

आन्तरिक पर्यटन पदयात्रा अझै व्यवस्थित हुन नसकेको अधिकारीले बताए । ‘आन्तरिक पाहुनाको आफ्नै पाराको पदयात्रा हुन्छ,’ उनले भने । आन्तरिकबाट पदयात्रा पर्यटन टिकाउ नहुने उनले बताए । ‘सडक सञ्जालले छोएका ठाउँमा आन्तरिकले केही मुभमेन्ट ल्याउँला । स्थानीय यातायात र होटल व्यवसायीले केही कमाउँलान् । तर, नितान्त पदयात्रा पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायी र निर्भर मजदुर उठ्न सक्दैनन्,’ उनले भने, ‘अरु व्यवसायीलाई आन्तरिकले राहत दिएपनि पदयात्रामा सहयोग पुग्दैन । त्यसैले अब सावधानि अपनाएर विदेशी पर्यटकलाई घुम्न बोलाउनुपर्छ । घुम्न आउनेलाई सहजीकरण गरिदिनुपर्छ ।’

कोरोनाको चपेटामा परेको पदयात्रा व्यवसाय कहिले संचालन हुने भन्ने निश्चित नभएको उनले बताए । ‘विदेशी पाहुना नेपाल आउन चाहेका छन् । तर, नेपालको राजनीति र कोरोनाको अवस्था उस्तै छ । स्थिति अन्योलपूर्ण बन्दै गएको छ,’ अधिकारी भन्छन्, ‘सावधानि अपनाएर सहजीकरण गरिदिएमा आउने अवस्था छ । यतिबेला विदेशीका लागि अन्योलपूर्ण देखिएको हो ।’

टानका अध्यक्ष सुशीलराज पौडेलका अनुसार पदयात्रा जानेमा आन्तरिक र भारतीय पाहुना कम हुन्छन् । तेश्रो मुलुकका पर्यटक मात्र साहसिक पदयात्रा रुटमा जाने गरेका छन् । ‘आन्तरिक पाहुनाले आर्थिक चलायमान बनाउँछन् । तर, पदयात्रामा उत्तिसारो आन्तरिकबाट लाभ हुँदैन । आन्तरिक पाहुनामा संस्थागत पदयात्राको चलन छैन,’ पौडेल भन्छन, ‘आन्तरिक पाहुना गाडीमा यात्रा गर्न चाहन्छन् । पदयात्रा तालिका अनुसार हिडडुल, बसोबास, खानपिनको संस्कार विकास भएको छैन ।’

पदयात्रामा जाने आन्तरिक पाहुना फिरन्ते शैलीका हुने गरेका छन् । ‘आन्तरिकले पर्यटन क्षेत्र चलायमान त बनाउँछ । तर, पदयात्रालाई लाभ भएको छैन,’ उनले भने, ‘जब की आन्तरिक पदयात्रीले गाइड र पोर्टर समेत लैजाँदैनन ।’ पौडेलका अनुभवमा पदयात्रामा गएका आन्तरिक पाहुनाले यतिसम्मको हेलचेक्रयाँइ गर्छन कि कहाँ र कसरी, कति उचाईसम्म जाने भन्ने पनि वास्ता गर्दैनन् । हिडडुल र खानपिनको शैली पनि मिल्दैन । व्यवस्थित र मर्यादित अझै हुन सकेको छैन । पदयात्रा संस्कार नै विकास हुन सकेको छैन ।

गन्तव्यसम्म पुग्नु नै ठुलो ठान्ने गरिन्छ । गन्तव्यको मज्जा पनि लिन जान्दैनन् । विदेशीले साता लगाएर पुरा गर्ने गतिविधि आन्तरिकले तीनदिनमा पुरा गर्छन । बिना योजना पदयात्रामा जाँदा सुरक्षाको दृष्टिले गर्दा पनि आन्तरिकलाई बेलाबेला समस्या हुने गरेको छ । मौसम, उचाई, वनजंगल, होटलको समस्याबारे पुरै अनभिज्ञ हुने गर्दा कहिलेकाँही खानपिन र बसोबासमै समस्या झेल्ने गरेको टान अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया