१५ चैत्र २०८०, बिहीबार
Follow Us

२०९३ सदस्यता फर्जीः छानविन समिति, एनआरएनए अमेरिका

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७७, शनिबार १६:०२

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको गत महाधिवेशनमा बनाएका सदस्य मध्ये करिब २०९३ सदस्यहरुको विवरण फर्जी भेटिएको छ ।

गैरआवासीय नेपाली संघद्धारा गठित एक छानविन समितिको प्रतिवेदन अनुसार वर्तमान अध्यक्ष सुनीह शाहको कार्यसमितिको निर्वाचनमा बनेका सदस्यहरु मध्येका ती सदस्यहरुको पूर्ण विवरण प्राप्त नभए पछि समितिले सबै सदस्यहरु नक्कली भएको निश्कर्ष निकालेको हो ।

एनआरएनए अमेरिकामा पन्जिकृत सदस्यहरु नक्कली भएको भन्दै उजुरी गरे पछि अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरिएको थियो ।

समितिमा कृष्ण लामिछाने, प्रकाश सापकोटा, नवराज रोस्यारा र शिवहरी नेपाल रहेका थिए ।

छानविन समितिका एक सदस्यका अनुसार अध्यक्ष शाह समूहले छानविन समितिलाई असहयोग गरे पछि सदस्यहरुको व्यक्तिगत विवरण छानविन समितिले भेरिफिकेसन गर्न सकेको थिएन् ।
‘हामीलाई सबै विवरण हेर्न दिइएन् सदस्यहरुको नाम लिस्ट मात्र दिइएको थियो त्यसैलाई आधार मानेर आइसीसीको सहयोगमा छानविन सम्पन्न भयो’ ती सदस्यले शनिवार नेपालब्रिटेन डट कमसंग भने ।

उनले सदस्यता वितरणमा गम्भिर लार्परवाही देखिएको बताए । समितिले आफ्नो प्रतिवेदन संघ समक्ष बुझाएको छ तर हाल सो प्रतिवेदन गोप्य राखिएको छ ।

छानविनको क्रममा सदस्यहरुको फोटो काटिएको, एउटै ठेगानामा धेरै जनाको नाम, नबुझिने परिचयपत्र, कयौं सदस्यको नाम र थर मात्र भेटिएको थियो ।

गैरआवासीय नेपाली संघका सचिव गौरीराज जोशीका अनुसार संघको आगामि पदाधिकारी बैठकमा सो प्रतिवेदन माथि छलफल हुने छ । संघको पदाधिकारी बैठक सोमवार बस्दैछ ।

यसैबीच संयोजक त्रिपाठीले एक विज्ञप्ति जारी गर्दै छानविनको लागि आवश्यक सूचना दिने सबै पक्षसंग आभार व्यक्त गरेका छन् ।