८ बैशाख २०८१, शनिबार
Follow Us

ओली ‘तह’ लगाउने दाहाल र नेपाल रणनीति बनाउँदै

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७७, आईतवार १५:५२

काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच आइतबार चार घण्टा बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा साढे ३ बजेदेखि बसेको बैठक साढे ७ बजेसम्म चलेको थियो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि विकसित राजनीतिक परिस्थितिका बारेमा दुई अध्यक्षबीच बसेर छलफल भइरहेको छ । करिब एक घण्टा बैठकमा बसेर प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकबाट बाहिरिएका थिए ।

सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव र सत्ता साझेदारीबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सित प्रचण्ड–नेपाल पक्षले छलफल गरिसकेका छन् ।

सो छलफलबाट पूर्ण आशावादी नभएका प्रचण्ड–नेपाल प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले राजीनामा नदिने र संसद फेस गर्ने बताएपछि प्रचण्ड–नेपाल अर्को रणनीति बनाउनमा व्यस्त छन् ।

‘प्रधानमन्त्री ओलीलाई कसरी तह लगाउने भनेर रणनीति त बनाउनै पर्यो नि’ प्रचण्ड–नेपाल पक्षका एक नेताले भने, ‘अध्यक्षद्वयको बैठक त्यसमै केन्द्रीत हो भनेर बुझ्नुस न ।’

प्रधानमन्त्री ओलीविरुद्ध यसअघि दर्ता गरेको अविश्वासको प्रस्तावमा जनमत बनाएर अघि बढ्ने वा अरु दलको पनि सहमतिमा नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने विषयमा पनि दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

नेपाली कांग्रेसले नेकपाको आन्तरिक विवाद नमिलेसम्म सरकारमा नजाने स्पष्ट अडान लिएपछि प्रचण्ड–नेपाल पक्ष नयाँ रणनीतिमा लागेका छन् । त्यस्तै, जसपाको पनि दुई धार देखिएपछि अविश्वासको प्रस्ताव सहज रुपमा अघि बढाउन सक्ने अवस्थामा नदेखेका प्रचण्ड–नेपाल पक्षले अबको नयाँ रणनीति बनाउन आवश्यक देखेको एक नेताले बताए ।

संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले दुई दिनअघि मात्र प्रचण्ड–नेपाल पक्षका देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएपछि थप विवाद उत्पन्न भएको छ ।