१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अहिलेको परिस्थितिमा प्रधानमन्त्री हुने चाहना छैन : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७७, शनिबार ०९:५५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिस्थितिमा आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन् । शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको महाकाण्ड नामक पुस्तकको विमोचन कार्यक्रममा सभापति देउवाले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका हुन् ।

संसद् पुनर्स्थापनापछि अबको प्रधानमन्त्री देउवा हुने चर्चा चलिरहेका बेला उनले आफूलाई प्रधानमन्त्री बन्न चाहना नभएको बताएका हुन् । सभापति देउवाले विपक्षी दलको नेता ‘वेटिङ’ प्रधानमन्त्री भए पनि आफू त्यो रेसमा नभएको बताए ।

देउवाले भने, ‘म प्रधानमन्त्रीको दौडमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने हो । विपक्षी दलको नेता प्राइमिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन ।’
अर्को प्रसँगमा देउवाले प्रतिनिधिसभा विघटनम्बन्धीको मुद्दा अदालतमा विचाराधीन भएका बेला कांग्रेस सडकमा प्रस्तुत नभएको पनि बताए । संसदीय व्यवस्थामा अदालतलाई ‘यो गर त्यो गर’ भन्न नहुने देउवाको भनाइ थियो ।

आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा भित्रको प्रचण्ड–माधव समूहले प्रस्ताव गरेको चर्चा चले पनि कांग्रेसले भने आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।