April 13, 2021
8:44 PM | 1:29 AM
कला तथा मनोरन्जन

‘एक प्यारका नग्मा है ..’ का गीतकारलाई जन्मदिनको शुभकामना

  07/03/2021 मा प्रकाशित


सुरेन्द्र नेपाल श्रेष्ठ ।

 

एक प्यारका नगमा है, मौजोंकी रवानी है !

जिन्दगीऔर कुछ भी नहीं

तेरीमेरी कहानी है …

यो गीत हामीले वर्षौपहिले देखि सुन्दै आएका छौं । अहिले पनि कहीँ कतै बज्यो भने सँगसँगै अनायासै गाउन थाली हाल्दछौं। गीत, संगीत मन पराउने पारखीहरुले यो गीत नसुनेको कमै होला । भारतीय फिल्मी दुनियाँमा त यो गीतलाई राष्ट्रिय गीत सरहको सम्मान नै प्राप्त भएको छ । हिन्दी सिनेमा हेर्नेहरुले यो पक्कै पनि नछुटाएको हुनपर्छ । गीत, संगीतलाई कुनै भाषा वा भूगोलले सीमित पार्न सक्दैन । शब्द नबुझे पनि मन परेको संगीतमा हामी सबै झुम्न सक्छौं, रम्न सक्छौं । केही बेरका लागि भए पनि आफूलाई भुल्न सक्छौं । साच्चिकै संगीत सबैको साझा भाषा पनि हो । के नेपाली, नेवारी वा हिन्दी वाअंग्रेजी । अहिले त स्पेनिश वा कोरियन संगीतको पनि विश्व तरङगित भएको छ । भाषा नबुझे पनि आवाजमा आवाज दिने हामीहरु र शरीरको अंग हल्लाइ हाल्ने संगीतको प्रभावले भावनाको भाषा बोल्दछ सायद।

एक प्यारका नगमा है … योगीत “स्वर” फिल्मको लागि सन् १९७२ मा लेखिएको थियो । लतामंगेशकर र मुकेशले गाएको यो गीतको संगीतकार थिए लक्ष्मीकान्त प्यारेलाल। गीत गाउने गायकहरुको नाम बढी प्रचार प्रसार हुने चलन नै छ। त्यसपछि संगीतकारको नाम लिइन्छ । तर एउटा गीतको जन्ममा लेखकको रचनाले भ्रुणको भूमिका निर्वाह गर्दछ । आज तिनै अमर गीतका गीतकार सन्तोष आनन्दको ८२ औं जन्मदिनको अवसरमा केही शब्द सुमनसहित शुभकामना व्यक्त गर्न चाहन्छु । हामीमध्ये कतिलाई उनको विगत र वर्तमान बारे जानकारी होला थाहा भएन तर यो लेख पढेपछि केही जानकारी हुनेमा म विश्वस्त छु। पछिल्लो समयमा केही भारतीय सञ्चारमाध्यमहरुमा सर्जक सन्तोषका दुःखी दिनहरुलाई उधिन्न खोजिएको छ । हृदयदेखि नै सम्मान प्रकट गर्नु त्यो एउटा कुरा तर पीडा दुःख आँशु जब व्यापारको तुलो बन्छ वास्तविकता धेरै पर भाग्छ । दुनियाँलाई खुशी र सुखी बनाउन विशेषत प्रेमसम्बन्धी सयौं गीतको रचना गर्ने गीतकारको नाम अनुसार उनको जीवनले कत्तिको सन्तोष र आनन्द महशुस गरे होलान् ? यो जान्नै पर्ने त हैन तर जानकारी राख्दा गीतको इतिहास जान्नुका साथै सर्जक प्रतिको सम्मान पनि हुने हुँदा प्राप्त जानकारीमा आधारित रही छोटो लेख तयार पारेको छु ।

गीतकार आनन्द

लामो समयसम्म फिल्मी दुनियाँका स्थापित व्यक्ति फिरोज खानको खाना पकाउने काम गरेकी रानु मण्डलले पछि गएर रेल्वे स्टेशन अगाडी गीत गाएर जीवन बिताउन पर्यो । उनको गायकी मन पराएर एक संगीत पारखीले उनले गाएको यही गीत सामाजिक सञ्जालमा राखेपछि उनको जीवनले कोल्टे फेर्यो । रातारात सडकबाट महलमा पुगिन् । हिजो हिरोसँग काम गर्दा बाहिर नआएको उनको प्रतिभा सडकबाट प्रस्फुटन भयो । यसबारे जानकारी होला भनी सोधिएको प्रश्नको सन्तोष आनन्दले दिएको यो जवाफ मर्मस्पर्शी छ । ‘होला मैले लेखेका गीतहरू धेरैले गाएका छन् । को को कहाँ पुगे सबैलाई शुभकामना तर मसँग भने उनीहरूको तरक्की हेर्ने स्मार्ट फोन पनि छैन।’ उनको हालको अवस्थाबारे यो जवाफ नै काफी छ । भनिन्छ मानिसको उमेर सँगसँगै उसका संघर्षका कथाहरु पातलो हुँदै जान्छन् तर सन्तोषको हकमा भने उमेर सँगसँगै नयाँनयाँ समस्याहरु थपिँदै गएको देखिन्छ ।

हालसालै इन्डियन आइडलको बाह्रौँ शृंखलामा सन्तोष आनन्दलाई विशेष पाहुनाको रूपमा आमन्त्रित गरियो । संयोगको विषय उनको गीतमा सबै भन्दा बढी संगीत भर्ने दुईजनाको जोडी लक्ष्मीकान्त प्यारेलालमध्ये प्यारेलालको पनि उपस्थिति थियो। उनीहरू बीच भेटघाट नभएको लामो समय भैसकेको थियो । यो भेटमा दुई जनाका व्यक्त नगरिएका थुप्रै भावहरू स्पष्ट देख्न सकिन्थ्यो । लक्ष्मीकान्तको मृत्युपछि सन्तोष आनन्दले फिल्मको लागि गीत लेख्न नै छाडेका थिए । अरु कुनै उनीहरू जस्ता संगीतकार पाए काम गर्ने इच्छा भए पनि अहिलेसम्म अरुसँग काम गरेका छैनन्। इन्डियन आइडलका एक निर्णायक संगीतकार बिशाल डडलानीले उनको नयाँ गीतमा संगीत भर्ने घोषणा गरेका छन् । सन्तोष आनन्दको जीवनका केही घटनाहरू प्रश्तुत भएपछि त्यहाँको वातावरणले अर्कै रूप लिन पुग्यो। निर्णायकहरुमध्येकी एक सदस्य नेहा कक्करले त्यही अमर अजर गीत ‘एक प्यारका नगमा है’ गाउँदै उनको समीप पुग्दा बलिन्द्रधारा बग्यो । सबै दर्शक र कोठामा टी.भी. हेरेर बसेकाहरु पनि भाव विह्वल हुन पुगे । नेहाले त्यहीबाट सहयोगस्वरुप पाँच लाख रुपैयाँ दिने कवुल गरिन् । तर सन्तोषले आजसम्म कसैसँग केही सहयोग नमागेको र नथापेको भनी अस्वीकार गर्ने मनशाय व्यक्त गरे । नेहाले फेरि ‘आफूलाई नातिनी जस्तै मानी यति स्वीकार गर्न’ अनुरोध गरे पछि उनले ‘हुन्छ’ भनेका थिए । यो कार्यक्रम पछि नेहा र इन्डियन आइडलले त्यो स्तरको सर्जकलाई यस्तो व्यवहार गर्न नहुने भन्ने तर्क पनि उठ्न थालेको छ । जे जसो भए पनि यस कार्यक्रमपछि उनी बारे उत्सुकता राख्ने धेरैले थप जानकारी लिएको देखिन्छ ।

उत्तर प्रदेशमा सन् १९३९ मा एक मध्यम परिवारमा पाँच सन्तानमध्ये दोश्रो सदस्यका रूपमा जन्म लिएका आनन्दको नाम सन्तोष चन्द्र मिश्र थियो । सानो उमेरदेखि नै पढाइअलावा अतिरिक्त क्रियाकलाहरूमा संलग्न रहने बालक पढाइमा तेज नै थिए । करिब १४ वर्षको उमेरमा उनले पोलियो रोगका कारण एउटा खुट्टा गुमाउन पर्यो । छोराको त्यो अवस्थाले गर्दा अब ठूलो भएपछि दुःख पाउने भयो के गर्ने होला भन्ने उनका पिताको चिन्तालाई दूर गराउने उद्देश्य नै उनको जीवनको शुरुआती भयो । आफू जसरी भए पनि स्वाभिमानी बन्ने र परिवारका अन्य सदस्यहरुलाई भारी बोकाउन हुन्न भन्ने कुरामा दृढ बने । लाइब्रेरी विज्ञानमा बी.एस्सी. सम्मको अध्ययन पूरा गरी बाँकी जीवन बिताउन नयाँ बाटो खोज्न बम्बई जाने निधो गरे । उनले त्यही नै लाइब्रेरीमा काम पाए । फुर्सदको समयमा कविता लेख्ने कवि सम्मेलनहरुमा जाने गर्न थाले । उनको कलम राम्रो चल्न थालेको थियो। साथीहरूले अब फिल्मको लागि गीत लेख्नपर्छ भन्ने सुझाव पनि नदिएका हैनन् । उनले सन् १९६५ मा विवाह गरे तर आफू बम्बई बस्ने श्रीमती गाउँमा नै बस्ने भएकोले सप्ताहन्तमा प्रायः घर जाने आउने हुन्थ्यो । यो प्रक्रिया करिब चार वर्ष चल्यो र पछि एकैसाथ बस्न थाले ।

उनीसँग मिल्ने एकजना साथी त्यतिबेला मनोजकुमारको फिल्म व्यवस्थापकका रूपमा कार्यरत थिए । उनले सन्तोषको कविता त्यतिकै गीत बनाएर गुनगुनाउने गर्दा रहेछन् । सन् १९७० को एक दिन मनोजले यी कसले लेखको गीत भनेर सोद्धा आफ्नो मिल्ने कवि साथी सन्तोषका बारेमा सुनाएका रहेछन् । मनोजले तुरुन्त भेट गर्ने ईच्छा जाहेर गरेछन् । नभन्दै त्यसैरात सन्तोष बस्ने डेरामा पुगेर राति नै जाने सल्लाह गर्दा श्रीमतीले राति हैन भोलि बिहान मात्रै जाने अनुमति दिइन्। त्यसपछि मनोज र सन्तोषको सम्बन्ध कहिल्यै छुटेन । त्यतिबेला ‘पुरब और पश्चिम’ को सबै सुटिङ सकिसकेको थियो तर एउटा गीत ‘पूरव सुहानी आईरे पुरव’ मन परेकोले त्यही फिल्ममा थपेर सन्तोषलाई फिल्मी दुनियाँमा भित्राएका थिए । सन् १९७२ मा निर्माण भएको स्वर फिल्मका सबै गीत लेख्ने जिम्मा उनैले पाए । एकप्यार का नगमा … गीत बनाउन उनलाई धेरै समय लागेको थियो । पहिला श्रीमतीसँग छुट्टिएर बस्दा एकदिन फोन गरेर चित्त दुखाएकी रहेछिन् । त्यसैबेला लेखिएको यो अंश पनि यसै गीतमा थपियो –

‘तू धार हैन दियाकी, मैं तेरा किनारा हूँ

तू मेरा सहारा है,मैं तेरा सहारा हूँ

आँखोंमें समन्दर है, आशाओंका पानी है ।’

सन् १९७४ मा मनोजकुमार निर्मित फिल्म रोटी कपडा और मकानको लागि लेखिएको गीत ‘में ना भुलुँगा मेंना भुलुङ्गी’ गीतले त सर्वश्रेष्ठ गीतको उपाधि समेत पायो । १९८१ मा बनेको देशभक्ति फिल्म क्रान्तिमा उनले गीत लेख्नुका साथै कथा लेख्न पनि सहयोग गरेका थिए । ‘जिन्दगीकी न टुटे नलडी’ बोलको गीतले तहल्का नै मचाएको थियो। त्यही साल बनेको प्यासा सावनको ‘मेघा रे मेघारे, मत परदेश जारे’ बोलको गीत पनि अमर बन्यो । मनोजकुमार र सन्तोषकुमारको सम्बन्ध यति प्रगाढ थियो कि सन् १९८९ मा मनोजले निर्माण गरेको फिल्मको नाम नै ‘सन्तोष’ राखेका थिए । सन् १९८२मा राज कपूर द्वारा निर्मित प्रेम रोगको गीत पनि सन्तोषको कलमबाटै लेखियो । ‘मुहबत हे क्या चीज’ बोलको गीतको लागि उनलाई दोश्रोपटक उत्कृष्ट गीतकारको उपाधि प्राप्त भएको थियो । त्यस्तैगरी उनले यश भारतीपदक सन् २०१६ मा प्राप्त गरेका थिए । गीतकार सन्तोषले २४ वटा फिल्मका लागि झण्डै १०९ वटा गीत लेखे । प्रायः सबै गीतहरु हिट भएका छन्। उनले अन्तिम फिल्म प्रेम आँगनको लागि सन् १९९८ मा गीत लेखेका थिए । सन् २००० सम्म त जागिर पनि थियो । त्यसपछिको जीवन देश विदेशमा गरी आजसम्म पनि आफ्ना नयाँ पुराना सृजनाहरु सुनाउने काम गर्दै आएका छन् ।

बिबाहपछि सन्तान नभएकोमा आनन्द सन्तोष दम्पतिलाई ठूलो समस्या भयो। हिन्दू परम्परा अनुसार गर्न पर्ने सबै भाकल (मन्नत) हरु गरे ।देश भरिका प्रायः सबै मठ मन्दिरमा पुगे । दश वर्षपछि छोराको जन्म हुँदा उनको जोडी कति खुशी भयो होला सबैले अड्कल काट्न सकिन्छ । त्यसपछि अर्को सन्तान छोरीको जन्म भयो । लामो समयपछि पाएको छोरासँग उनको सम्बन्ध अति गाढा थियो । आफ्नो क्षमता अनुसार छोरालाई शिक्षा दिक्षा पालन पोषण गर्नेमा कुनै कमी गराएनन् । पढाइ पछि गृह मन्त्रालयअन्तर्गत भारतीय प्रशाशनिक सेवाका अफिसरहरुलाई समाज शास्त्र रअपराध शास्त्र पढाउने काम पाए ।छोरोको विवाहवारी पनि भयो । एउटा छोरी सहित राम्रैजीवन यापन गरिररहेका थिए ।

सन् २०१४ अक्टोबर १५ को बिहान एउटा अप्रत्याशित घटना घट्यो । त्यो अरु केही नभएर सन्तोष आनन्दका छोरा बुहारीले मथुराबाट आइरहेको तीब्र गतिको रेलको अघिल्तिर लिकमा हाम फालेका थिए । हुनत सानी छोरी सहित सबैले आत्महत्या गर्ने योजनासहित आफ्नै गाडीमा गएका थिए । रेल्वे लिक नजिकै गाडी रोकेका थिए। रेल सुरक्षामा खटेका प्रहरीहरुले देखेका पनि थिए । शोधनी हुँदा शौचालय गर्न रोकिएको बहाना बताएका थिए । एकैछिन पछि तीब्र गतिमा आएको रेलको अगाडी दौडिएर हाम फाल्दा हातमा बोकिएकी छोरी उछिट्टिएर पर पुगीछन् तर श्रीमान् श्रीमती दुवैजना घटनास्थलमा तुरुन्तै मृत्युवरण गर्न पुगेछन् । सधैंजसो छोरालाई फोन गर्ने आमाको बानी अनुसार उक्त बिहान पनि धेरैपटक फोन गरेकी थिइन् । तर फोन उठिरहेको थिएन । धेरै प्रयास पछि फोन त उठ्यो तर बोल्ने आवाज अरू कोहीको थियो । अचम्ममा पर्दै असहज महसुस गरेकी आमालाई प्रहरीले यस घटनाबारे बताउँदा संसार भासिए जस्तो लाग्यो । देशैभरी यो समाचारले सुखा जंगलमा आगो सल्किएको जस्तो भयो । यति ठूलो दुर्घटनाबाट बाँचेकी छोरी उता हस्पिटलको बेडमा ‘ड्याडी ममी’ भन्दै रुँदै थिइन् । उनको अवस्था गम्भीर भए पनि ज्यानै जाने खालको भने थिएन ।

 

उनका छोरा संकल्प कामको सिलसिलामा एउटा ठूलो निर्माण योजनाको ठेक्कापट्टामा संलग्न भएका थिए । करिब २५० करोडको उक्त योजनामा निकै आर्थिक चलखेल भएको र त्यसमा लागेका मुख्य मानिसहरुले सबै दोष संकल्पमाथि लगाएर आर्थिक तथा मानसिकरूपमा सताउन थालेकोले बाध्य भएर श्रीमान श्रीमती दुवैको सल्लाहमा पूरा परिवारले आत्महत्या गर्ने योजना बनाएका थिए । दुवै जनाको हस्ताक्षर भएको ११ पाना लामो सुसाइड नोटमा सबै विवरण खुलाएर सम्बन्धित केही व्यक्तिहरूको नाम र नम्बर समेत उल्लेख गरेका थिए । समस्या समाधान गर्न आफूसँग भएको सबै नगद सकिएको धेरै ऋण बोक्न परेको र भए भएको जायजेथा समेत सकिने भएको हुँदा दुवै जनाको सहमतिमा तीनै जनाको ज्यान लिने निर्णयमा पुगेका थिए ।

अहिले ८२ वर्षीय सन्तोष आनन्द नातिनी रिधिमा र छोरी शैलीसँगआफ्नो जीवन बिताई रहेका छन्। छोराको कमीलाई नातिनीमार्फत केही आशा जगाईरहेका छन् । अझै पनि कुनै नयाँ सृजनाको लागि नै बाँचिरहेको बताउँछन् । उनीभित्र एउटा नयाँ गीत जन्मिन व्यथा लागिसकेको छ । कति बेला जन्म हुन्छ थाहा छैन । अहिले जन्मिन खोजेको गीत यस्तो हुन सक्छ । उनी भन्छन्;

“मुहबतसे कब मुलाकात होगी

जिन्दगीकी कब शुरुआत होगी

मुहबतकी जब मुलाकात होगी

जिन्दगीकी तब शुरुआत होगी।”

‘जीवनमा सबै दिएर फिर्ता लिएको भगवानले मलाई आजसम्म बचाउनको पछाडि केही कारण हुनुपर्छ । मेरो खुट्टा भाँचिएको छ तर मेरो ईच्छा हौसला अझै भाँच्न सकेको छैन । ‘म मेरी नातिनीका लागि केही समय बाँच्नुपर्छ । त्यतिन्जेल आजसम्म नलेखिएको सबैको गीत लेख्छु’ भन्ने उनको इरादा छ। शारीरिक रूपमा कमजोर भएर पनि सक्रिय रहेका सन्तोष आनन्द केही वर्ष अगाडिसम्म देशविदेश पुगेर आफ्नो गीत, कविता सुनाउने गर्दथे । बोल्न समेत कठिन भए पनि जब उनले कविता पढ्छन् सबैलाई चकित बनाई दिन्छन्। पुराना दिनहरू सम्झेर त्यही जोश निकालेर उठ्न खोज्छन्, हिँड्न खोजे जस्तो गर्छन्। कहिलेकाही सहयोगीको साथमा केही बेर उठेरै बोल्न थाल्छन् । ‘गीत लेख्दा म मेरो आत्मालाई मुटुलाई नै बाहिर ल्याउने कोशिश गर्छु । मेरा श्रृजनाहरु केवल कापीमा पोखिएका मसी मात्रै होइनन् । मेरा आँशु र रगत मिसिएको यथार्थता हो’ भन्छन् । जवानीमा बिताएका रंगीन दिन रातहरु सम्झदै उनलाई सधैं साथ दिनेमध्ये मनोजकुमारलाई अति नै सम्झिन्छन्। लक्ष्मीकान्त र प्यारेलाल उनको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने दुई पात्रहरू हुन् भनी सगौरव नाम लिन्छन् । यो दुनियाँ नै प्रेममा अडिएको छ हामी सबैले सबैलाई प्रेम गर्नु पर्छ । प्रेमबिनाको जीवन कसले कल्पना गर्न सक्छ र ? आखिर जीवन के रहेछ र उनैले लेखे जस्तो;

“कुछ खोकर पाना है,

कुछ पाकर खोना है,

जीवनका मतलब ही आना और जाना है”

‘को कहिले जान पर्ने हो म अहिलेसम्म बाँचिरहेको छु यो मरेतुल्य शरीर बोकेर तर चालीस नपुगेको मेरो छोरालाई अनायास चुँडेर लग्यो’ भन्दै भावविह्वल हुन्छन्। तर सम्भालिएर ठूलो स्वरमा–

“तुमिसे प्यार करता हुँ

तुमिपे ज्यान दिने आया हूँ

आखिरी बख्त हे इम्तहान देनेआए हु !”

यही मुखडाबाट कार्यक्रम शुरु गर्छन् । युवा युवतीहरुलाई जोश भर्दै क्रान्ति फिल्मको यो हरफ अन्त्यतिर सुनाउँछन्,

“उन आँखोका हसना भी क्या ?

जिन आँखो में पानी नाहो ।

ओ जवानी जवानी नहीं,

जिसकी कोही कहानी न हो !”

भारत सरकारले स्वतन्त्रता दिवस मनाउँदा हरेक वर्ष उनलाई पनि निमन्त्रणा गर्ने गरेको छ ।लाल किल्लामा गएर देशभक्ति कविता सुनाउनु उनको वार्षिक रुटिन नै हो । यस बारेमा पनि उनी भन्छन्; खासै तयारी गर्दिनँ । जाने बेलामा मनमा केही शव्दहरु खेलाउँछु मञ्चमा गएर सुनाउँछु ।’ उनको देशभक्ति अझै पनि क्रान्ति फिल्ममा लेखिएको गीतहरू जस्तै उर्जाशील छन् तर देशले उनको लागि के गरेको छ भन्ने बारे त्यति जानकारी पाइँदैन । छिट्टै नयाँ कालजयी गीतको अपेक्षासहित गीतकार सन्तोष आनन्दको ८२ औं जन्म दिवसका अवसरमा हार्दिक बधाई ।

प्रतिक्रिया