१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नवनियुक्त राजदूत रेग्मीको बेलायतमा स्वागत तथा सम्मान (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७७, मंगलवार २२:०१

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतस्थित नेपाली समुदायको संरक्षक, अभिभावक र प्रवर्द्धकको भूमिकामा दूतावासको २४ सै घण्टा हरपल साथ रहने बताएका छन् ।

गैर आवासीय नेपाली संघ युकेद्वारा आफ्नो सम्मानमा मंगलबार बेलुका आयोजित समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बांकी नराख्ने जनाए ।

नेपाल सरकारका पूर्व मुख्यसचिव रहीसकेका राजदूत रेग्मीले आफुले पाएको जिम्मेवारी बहन गर्न नेपाल र नेपालीको हितमा विकास, सभ्यता र संस्कृतिको लागि भूगोलका सीमाहरु भन्दा पनि माथि उठेर समर्पित रहने प्रतिवद्धता व्यक्त गरे। “बेलायतमै स्थापना भएको एनआरएनको गरिमा र महत्व मैले राम्रोसंग बुझेको छु। नेपाल र नेपालीको हितमा, तमाम गैर आवासीय नेपालीहरुको हितमा कुनै पनि कमि आउन दिने छैन,” उनले भने। नेपाल र नेपालीको हित प्रवर्धन गर्ने कार्यमा सघाउन एनआरएनए लगायत सबैलाई उनले आग्रह पनि गरे।

लन्डनस्थित नेपाली दूतावासकी उप नियोगप्रमुख रोशन खनालले बेलायतस्थित नेपाली समुदाय अत्यन्तै परिपक्व र नेपाली समाज विविधतायुक्त रहेको बताइन् । उनले नेपालमा विपत्तिका बेला योगदान गरिरहेको भन्दै नेपाली समुदायको र नेपाली कला तथा संस्कृति प्रवर्द्धनमा एनआरएनएले पुराएको योगदानको प्रशंसा गरिन् । नेपाली दूतावासबाट प्रदान गरिने सेवाहरु प्रभावकारी र छिटोछरितो बनाउन दूतावासले प्रयास गरीरहेको बताउंदै उनले बेलायतस्थित नेपाली समुदायसंग रहंदै आएको असल सम्बन्ध कायमै रहने विश्वास अपनी दिलाइन् ।

एनआरएनएका सल्लाहकार कुल आचार्यले धैर्यवान, थोरै बोल्ने, काममा दखल भएका, राजदूत बेलायतले पाएको भन्दै खुसि व्यक्त गरे। “बेलायत वास्तवमा गोर्खाहरुको भूमि नेपाली समुदाय मिलेर बसेको समाज हो । डायस्पोरा र दुइ देशको सम्बन्ध अगाडी बढाउन हामी संगै रहने छौं,” उनले भने।

एनआरएनएका महासचिव डा हेमराज शर्माले संघले दूतावास नभएका ठाउँमा पनि संघ पुगेको बताए। “कोरोना महामारीको बेलामा ५० देशमा २,५०० स्वयम्सेवक परिचालन गरी १,७०,००० नेपालीहरुलाइ सहयोग गर्न संघ सफल भयो। आइएलओ र आइ ओ एमसंग सहकार्य गरेर १० करोडको बजेट ल्याएर मध्यपूर्वमा दुख पाएका नेपालीहरुलाई सहयोग गरेका छौं,” उनले भने। उनले प्रवासमा रहेका नेपाली नागरिकलाई नयाँ प्रविधि प्रयोग गरेर मतदान गर्ने अधिकार दिन पनि आग्रह गरे।

समाजसेवी डा राघव धितालले १९६० को दशकमा नेपालीहरु बेलायत आउन थालेका बताए । उनले वंशजको आधारमा नागरिकता निरन्तरता गर्न पनि आग्रह गरे। नेपाल ब्रिटेन डटकमका प्रधान सम्पादक चिरन शर्माले दूतावासले विगतमा झैँ सहि र सत्य सूचना समयमै उपलब्ध गराएर पत्रकारहरुलाइ सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, आइसीसी सदस्य रामशरण सिम्खडा, आइसीसी सदस्य चन्द्र गुरुङ लगायतका वक्ताले नव नियुक्त राजदूत रेग्मीलाई स्वागत गर्द उनको कार्यकालको सफलताको कामना गरेका थिए।

एनआरएनए युकेकी अध्यक्ष पूनम गुरुङले अध्यक्षता गरेको कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए। एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्काले प्रमुख अतिथि लगायत सबै सहभागीहरुलाई स्वागत गरेका थिए।