६ बैशाख २०८१, बिहीबार
Follow Us

को बन्ला आइजीपी : चारजनाबीच प्रतिस्पर्धा

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार ०५:२७

काठमाडौं । आइजीपी हुने प्रतिस्पर्धा तीब्र बनेको छ । आइजीपी बन्नेलाई भन्दा पनि आफू अनुकूल आइजीपी बनाउन राजनीतिक दलहरु भित्रभित्रै होमवर्कमा जुटेका छन् । कारण स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हो । आफूले मान्ने व्यक्तिलाई
आइजीपी बनाउन पाए शक्ति र सुरक्षाको आडमा चुनाव जित्न सजिलो पर्ने भएकाले आइजीपीको दौडमा डिआइजीलाई भन्दा बढी चासो ठूला दलमा देखिन थालेको छ ।
चार डीआइजीमध्ये एक नम्बरमा केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीका प्रमुख नवराज सिलवाल, दुई नम्बरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्याल, तीन नम्बरमा लागु औषध नियन्त्रण व्यूरोका प्रमुख जयबहादुर चन्द र चार नम्बरमा आतंकवाद हेर्ने विशेष व्यूरोका प्रमुख बमबहादुर भण्डारीमध्ये एकजना आइजपी बन्ने हुन् । कसले मैदान मार्छ ? त्यो अहिले नै भन्न सकिन्न । किनभने यसअघि पार्वती थापा मगरले पाउनुपर्ने आइजीपी उपेन्द्रकान्त अर्याललाई दिएको थियो । यी चारैजना २०४४ साले हुन् । यी चारमध्ये दुईजनाले आत्म प्रचार गराएको देखेपछि आलोचनासमेत भएको थियो ।
यी चारैजनाको कुनै न कुनै नेतासँग हिमचिम बाक्लै देखिन्छ । तथापि कामका हिसावले वन्यजन्तु, मानव तस्करी, एटीएम ठगीदेखि कल वाइपाससम्मलाई पक्राउ गरेकाले नवराज सिलवाल बढी जनजिब्रोमा भिजेका देखिन्छन् । प्रकाश अर्याल ट्राफिक सुधारमा, जयबहादुर चन्द लागूऔषध पक्राउ गर्न, बमबहादुर भण्डारी भूमिगत मंगोल फोर्सलाई पक्राउ गर्न सफल भएको चर्चा सार्वजनिक भएको छ ।
नवराज सिलवाल माधव नेपाल, प्रचण्ड, चित्रबहादुर केसीजस्ता नेताहरुसँग बढी सम्पर्कमा छन् भनेर प्रकाश अर्याल वर्तमान आइजीपीका नातेदार र एमालेका दोस्रो तहका नेताहरुसँग उठबस बढी देखिन्छ । त्यसैगरी जयबहादुर चन्दले सुदूरपश्चिमका कांग्रेस, एमाले, माओवादीका नेताहरुसँग सुमधूर सम्बन्ध बनाएका छन् ।
बमबहादुर भण्डारीको भरथेग भने कांग्रेसका नेता रामचन्द्र पाडेलले गर्ने बताइन्छ । कामका, चर्चाका र सम्बन्धका सबै थरिका जाँचमा नवराज सिलवाल अग्रपंक्तिमा देखिन्छन् । फागुन १ गते सम्ममा रात रहे पनि अग्राख पलाएन भने नेपाल प्रहरीका आगामी आइजीपीमा नवराज सिलवालको चयन हुने सम्भाबना ९९ प्रतिशत देखिन्छ । सरकारले कसलाई उपयुक्त ठान्छ, आइजीपीका लागि के कस्ता खेलहरु हुन्छन्, बिस्तारै त्यो देखिदै जाने निश्चित छ ।