१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा नेपालीले समाजसेवामा रेकर्ड बनाए

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७७, आईतवार ०६:२२

चर्चित हलिउड अभिनेत्री साथ दिन आइन्

काठमाडौं। बेलायतमा एक नेपाली युवाले समाजसेवाका क्षेत्रमा विशाल कोसेढुङ्गा पार गरेका छन् । यो क्षणमा उनलाई साथ दिन चर्चित हलिउड अभिनेत्री जोआन्ना लुम्ले पनि आएकी थिइन् । बेलायतमा कोरोनाभाइरस महामारी सुरु भएर आफ्नो रेष्टुरेन्ट बन्द गर्नुपर्ने भएपछि त्यहाँ बस्दै आएका नेपाली युवा सुजन कटुवालले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निःशुल्क डिनर वितरण गर्न थालेका थिए । बिहीबार सुजनले निःशुल्क बाँडेका डिनर प्याकेटको संख्या १ लाख पार भएको न्यूज चेन अनलाइनले जनाएको छ ।

१ लाख औं प्याकेट दिनको लागि सुजन नेपाली पोसाक दौरा सुरुवाल र ढाकाटोपीमा गएका थिए । उनलाई साथ दिन अभिनेत्री लुम्ले पनि साथमै गएकी थिइन् । सुजनले बेलायतको दक्षिणी लण्डनमा लेविसाममा पानस गोर्खा रेष्टुरेन्ट चलाउँछन् । उनले महामारीका कारण रेष्टुरेन्ट बन्द भएपछि एनएचएसका कर्मचारी, होमलेस सेल्टर, र सामुदायिक केन्द्रहरुमा निःशुल्क खाना बाँड्न थालेका थिए । बिहीबार उनलाई साथ दिन अभिनेत्री लुम्ले पनि आइन् । अभिनेत्री लुम्लेले लामो समयदेखि बेलायतमा बस्दै आएका नेपाली समुदायको हितको लागि अभियान चलाइरहेकी छिन् ।

सुजनले डिनरका प्याकेटहरु ग्रिनविचको रोयल आर्टिलरी ब्यारेकमा बाँडेसँगै उनले बाँडेका खानाको प्याकेटको संख्या १ लाखभन्दा बढी भएको छ । खाना वितरणपछि अभिनेत्री लुम्लेले भनिन् ‘अत्यन्तै व्यवस्त भएर खाना बनाउन समेत समय नपाउनेहरुका लागि यसरी खाना वितरण गर्नु अत्यन्तै परोपकारी कार्य हो । उनीहरुले स्वास्थ्यकर्मी, घरबारविहीन समुदायलाई सहयोग गरेर १ लाखको कोसेढुंगा पार गर्नु निश्चय पनि उल्लेखनीय हो ।’

यतिमात्र होइन सुजनको रेष्टुरेण्टले दशौं हजार पाउण्ड ‘पानस हेल्पिङ ह्याण्डस’ नामक परियोजनाको लागि पनि खर्च गरिसकेको छ । उनले यो अभियानलाई जारी राख्न यसै वर्षको सुरुवातमा क्राउडफण्डिङ पनि सुरु गरेका छन् । सुजनले लुम्लेजस्ती चर्चित अभिनेत्रीबाट साथ पाउनु आफ्नो लागि ‘वास्तवमै विशेष’ भएको बताएका छन् । सुजन र उनकी पत्नी बन्दनाले यो कार्यको लागि ‘क्विन्स अवार्ड’ पाइसकेका छन् ।

यी नेपालीले अभिनेत्री लुम्लेबाट जस्तै अभिनेता स्याली लिन्डसे र स्टाइल काउन्सिलका पूर्व ड्रमर स्टिभ ह्वाइटबाट पनि सहयोग पाएका छन् । ग्रिनविच काउन्सिलका नेता ड्यान थोर्पेले भने ‘रोयल ग्रिनविचका सबैको तर्फबाट म पानस गोर्खालाई महामारीको क्रममा उहाँहरुले गरेको अतुलनीय कार्यको लागि धन्यवाद दिन चाहन्छु । कोभिड १९ ने मानिसहरुभित्र भएको असल भावना बाहिर ल्याएको छ र यहाँहरुले दक्षिण पूर्वी लण्डनको हाम्रो समुदायको लागि गरेको योगदान अद्भूत छ ।’

सुजनले अब यो परोपकारी कार्य आफ्नो समुदायमा सधैंका लागि जारी राख्ने सोच बनाएको बताएका छन् । ‘यो साँच्चै आँखा खोलिदिने अनुभव थियो साथमा स्थानीय मानिसहरु कृतज्ञ भएको देख्दा यो निकै खुसीको काम पनि थियो’ उनले भने ‘हामी यो कठिन समयमा हामीले गर्न सकेको सानै भए पनि योगदानप्रति खुसी छौं । क्राउडफण्डिङबाट पानस गोर्खा हेल्पिङ ह्याण्डसको लागि ९० हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखिएकोमा यो समाचार तयार पार्दासम्म २७ हजार ८५६ पाउण्ड जम्मा भइसकेको छ । पानस गोर्खालाई सहयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।