१६ चैत्र २०८०, शुक्रबार
Follow Us

साउदी अरबमा श्रमिकमैत्री नीति लागू , हजारौं नेपाली कामदार लाभान्वित हुने

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७७, आईतवार १७:०३

लण्डन । साउदी अरबले परिमार्जनसहितको कफाला स्पोन्सरसीप सिस्टम अर्थात श्रम नीति आजबाट लागू गरेको छ । साउदी सरकारले गत नोभेम्बरमा कफाला सिस्टम श्रमिकमैत्री बनाउने प्रतिवद्धता जनाएको थियो ।

सोही बमोजिम आजदेखि यो सिस्टम आधिकारिक रूपमा लागू गरेको हो । योसँगै वैदेशिक रोजगारीका शिलशिलामा साउदी अरेबियामा रहेका प्रवासी कामदारहरुले आजबाट कम्पनी वा मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न तथा चाहेको बेला आफ्नो देश फर्कन पाउने भएका छन् ।

यस अघिको कफाला प्रणालीमा कुनै मजदुरले काम छाड्नु परेमा रोजगारदाताको अनुमति लिनुपर्ने र निकै झन्झटिला प्रावधान समेटिएका थिए तर पछिल्लो यस प्रणालीले कामदारलाई रोजगारदाता छान्ने र स्वेच्छाले त्याग्ने अधिकार दिएको हो । यस प्रणालीले हाल साउदीमा रहेका एक करोड बढी विदेशी कामदार लाभान्वित हुने बताइएको छ । पछिल्लो यो निर्णय नीजि कम्पनीमा काम गर्ने सबै स्वदेशी र विदेशी कामदारमा समान रुपले लागू हुने सरकारी अधिकारीले बताएका छन् ।

साउदी सरकारको पछिल्लो यस कदमलाई मानव अधिकारवादी संघसंस्थाले स्वागत गरेका छन् । यद्यपि, काफला प्रणाली अन्तर्गत अन्त्य गर्नैपर्ने केही प्रावधान अझै यथावत राखिएको प्रति साउदी सरकारको ध्यानाकर्षण गराएका छन् । यद्यपी साउदी सरकारले भने क्रमश: कामदारको क्षमता वृद्धि तथा काम गर्ने वातावरण सुधार गर्ने लगायतका प्रतिबद्धता यसअघि नै जनाएको छ ।

साउदी सरकारको पछिल्लो यस नीतिमा साउदीमा रहेका बहुसंख्यक नेपाली श्रमिक पनि लाभान्वित हुनेछन् ।