१२ बैशाख २०८१, बुधबार
Follow Us

व्यवस्थापिका संसदको बैठक ६ दिनका लागि स्थगित

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार १०:३३

काठमाडौं । व्यवस्थापिका संसदको बैठक ६ दिनका लागि स्थगित गरिएको छ । संसद भवन नयाँ बानेश्वरमा शीर्ष नेतासहित कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल निश्कर्षमा पुग्न नसकेपछि आज एक बजेका लागि बोलाइएको बैठक पुस २४ गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । नेताहरुले अर्को बैठकसम्म सहमति खोजिसक्ने प्रतिबद्धता जनाएका छन् । सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खोलिदिए पनि सीमाकंन हेरफेरका लागि प्रदेशसभा आवश्यक पर्ने राय दिएपछिको परिस्थितिमा केहि समय लिएर भएपनि सहमति जुटाउन दलहरु राजी भएका हुन् । विपक्षी दलले पुस २२ गते काठमाडौंमा प्रदर्शनको तयारी गरेकाले पनि बैठक धकेलिएको हो । संविधान संशोधन विधेयक असंवैधानिक रहेको भन्दै एमालेसहितका विपक्षी ९ दलले मंसिर १४ गते यताका संसद बैठकमा अबरोध गर्दै आएका छन् । कार्य व्यवस्था परामर्श समितिमा भएको छलफलमा सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले र मधेसी मोर्चासहितको सहमतीय सरकार गठन गरी सीमांकनलगायतका विवाद उच्चस्तरीय शक्ति सम्पन्न कार्यदलमार्फत टुङ्ग्याउन प्रस्ताव गरेको छ ।