१५ चैत्र २०८०, बिहीबार
Follow Us

व्यवस्थापिका संसदको गतिरोध आइतवारदेखि हट्ने

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार १३:५८

काठमाडौं । एक महिनादेखिको जारी संसदको गतिरोध हट्ने भएको छ । सभामुख ओनसरी घर्तीले बोलाएको शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सुचारु गर्ने विषयमा सहमति भएको हो । दलहरुबीच सहमति भएपछि मंगलबार एक बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी पुस २४ गते आइतवारसम्मका लागि स्थगित गरिएको छ ।
दलहरुबीच भएको सहमति अनुसार प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दलले २२ गते राजधानीमा विरोधसभा सम्पन्न गर्न दिनेगरी सहमति भएको हो । तत्काल सहमति गर्दा विरोधसभाको औचित्य नहुने भन्दै विपक्षीको विरोधसभापछि संसद बैठक बोलाइएको हो कार्यव्यवस्था समितिको बैठकमा विपक्षीको विरोधसभापछि पुस २४ गते बस्ने संसद बैठक सुचारु गर्ने विषयमा दलहरुबीच सहमति भएको छ ।
दलहरुबीच सर्वोच्चको फैसलालाई ध्यानमा राखेर सरकारले प्रदेश सीमा परिवर्तन गर्ने विषयसँग सम्बन्धित संविधान संशोधन विधेयक सरकारले फिर्ता लिने र बाँकी विषयमा एमालेलगायत विपक्षी दलले सहयोग गर्ने सहमति भएको छ ।
सर्वोच्च अदालतले संसदीय प्रक्रियामा रहेको विषयमा सांसदहरुले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदै न्यायापालिकाबाट प्रक्रिया नै रोक्ने गरी आदेश गर्न उचित नहुने फैसला गरेपछि प्रमुख प्रतिपक्ष संसदमा दर्ता भएको संशोधन प्रस्ताव प्रक्रियामा लैजान सहमत भएको हो । एमाले स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्ने निर्णय गरिसकेको छ ।