१३ बैशाख २०८१, बिहीबार
Follow Us

समाजसेवी श्रेष्ठ दम्पतिद्धारा बेलायतमा खाद्यान्न वितरण

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७७, शुक्रबार १२:११

लन्डन । त्यसै त बेलायतको चिसो मौसम, त्यसमाथि कोरोना महामारीको उत्कर्षले अहिले सबैलाइं सताएको छ । तर आफ्नो जीवन नै सडकमा बितारहेका यहाँका होमलोस हरुको दिनचर्या थप कष्टकर बनेको छ ।

यही कहरबीच बेलायतको बेजिङस्टोक क्षेत्रका होमलेस हरुको लागि स्थानीय समाजसेवी शिवजी श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठले खाद्यान्न वितरण गरेका छन् ।

बेजिङस्टोकस्थित क्यामरोज सेन्टरमार्फत श्रेष्ठ दम्पतिले २५ जना होमलेसहरुको लागि एक साता पुग्ने खाद्यान्न वितरण गरेका हुन् । सेन्टरमा रहेका होमलेसहरुकै रोजाइअनुसार चामल, नुडल्स, दुध, क्रिस्प, लगायतका सामग्री प्रदान गरिएको श्रेष्ठले बताए ।

बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठले बिहीबार फोरमकै पूर्व अध्यक्ष एवम् प्रवक्ता अनन्ताकृष्णन शंकरानारायणन (ए के) समेतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरणका अवसरमा क्यामरोज सेन्टरकी म्यानेजर क्लेयर फार्रोले दाताहरुको सहयोगमा होमलेस व्यक्तिहरुलाई नियमित रुपमा खानाको व्यवस्था गर्दै आएको जनाउँदै महामारीको बेला अवस्था अफ्ठेरो बनेको बताइन् । स्वयमसेवी दाताहरुको सहकार्यले धेरै सहयोग पुर्याएको भन्दै उनले कृतज्ञता व्यक्त गरिन् ।

फोरम अध्यक्ष श्रेष्ठले यस्ता सहकार्यले अल्पसंख्यक आप्रवासी र स्थानीय समुदायबीचमा सम्बन्धलाई थप सौहार्दपूर्ण बनाउने विश्वास व्यक्त गरे । श्रेष्ठ दम्पतिले विगत दुई वर्षदेखि सेन्टरसंगको सहकार्यमा होमलेसहरुलाई सहयोग गर्दै आएका छन् ।

बेजिङस्टोक क्षेत्रका २७ वटा अल्पसंख्यक एफ्रो– एसियन, क्यारेबियन तथा युरोपियन कम्युनिटी संलग्न बेजिङस्टोक मल्टिकल्चरल फोरममा अहिले नेपाली समुदायको प्रतिनिधित्व गर्दै श्रेष्ठ अध्यक्ष छन् । अल्पसंख्यक आप्रवासीहरुको भाषा र संस्कृति प्रवद्र्धनका लागि स्थानीय काउन्सिल, मेयर, सांसद तथा अन्य सरकारी निकायहरुसंगको समन्वयमा फोरमले काम गर्ने गर्छ ।

फोरमले कोरोना भ्याक्सिन खोप वितरणमा संलग्न स्थानीय स्वास्थ्यकर्मी एवम् स्वयंसेवकहरुको लागि पनि खानाको प्रबन्ध गर्दै आएको छ ।