१३ बैशाख २०८१, बिहीबार
Follow Us

साइकल यात्री बस्न्यात नेपालगंजतर्फ, विद्यालय पुनर्निर्माणमा सघाउन हेल्प नेपालको आग्रह

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७७, शुक्रबार १३:०६

काठमाडौँ । कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालयका लागि सहयोग जुटाउने उद्देश्यका साथ साइकल यात्रामा निस्केका साइकलयात्री देवेन्द्र बस्न्यात शुक्रबार बिहान दाङ्ग देउखुरीको लालमटियाबाट प्रस्थान गरेका छन्।

बस्न्यात शुक्रबार बेलुका पूर्व पश्चिम राजमार्गस्थित कुसुम पुगेको र राती त्यहीं बस्ने हेल्प नेपाल नेटवर्कका रोशेन्द्रध्वज खड्काले बताए। बस्न्यात शनिबार बिहानै नेपालगंजतर्फ प्रस्थान गर्नेछन् ।

दोलखादेखि दिपायलसम्म करीब १२ सय किलोमिटर एकल साइकल यात्रामा हिडेका बस्न्यातले आउदो मार्च २४ तारिखकf दिन डोटीको दिपायल पुग्ने लक्ष लिएका छन्।

उनले दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्कको संयोजनमा साइकल यात्रा थालेका हुन्।

नेटवर्ककी सचिव लता घिमिरेले संस्थाले मूलतः शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको र विपदका बेला अल्पकालीन सहयोग गरिरहेको बताइन् । उनले यो अभियानबाट संकलन हुने रकम दोलखाको विद्यालय भवन र भक्त बीबी फर ह्युमेनिटीको संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने जानकारी दिइन् ।

हेल्प नेपाल नेटवर्क युकेले यो अभियानमा सघाउन चाहने सहयोगी दाताहरुलाई Click Here
मा गएर आफुले इच्छाएको रकम सघाउनु हुन आग्रह गरेको छ।

त्यस्तै नेपालमा हेल्प नेपाल नेटवर्कको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा सहयोग रकम जम्मा गर्न सकिने छ।

को हुन् साइकलयात्री बस्न्यात ?

सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहेका बस्न्यातले विश्व साइकलयात्री पुश्कर शाहसंग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रबद्र्धन लगायतका काम गर्दै आएका छन् ।

फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दिपुरुष सत्यमोहन जोशी, पूर्व मंत्री तथा कांग्रेस नेता गगन थापा, संस्थाका सल्लाहकार एवं पूर्वअर्थमन्त्री शंकर कोइराला, विजय राजभण्डारी लगायतले बस्न्यातलाई विदाई गरेका थिए ।

बस्न्यातले अभियानका क्रममा आफूले कुनै रकम नलिने र साइकलको मर्मत लगायतको खर्च पनि आफैले व्यहोर्ने बताएका छन् ।

नेपालको दुर्गम र ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको हेल्प नेपाल नेटवर्कले निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भैरहेको अध्यक्ष अरुण सिंह बस्नेतले जानकारी दिएका छन् ।