१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना संक्रमण बढेपछि फ्रान्सका १६ प्रान्तमा फेरि लकडाउन

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७७, शुक्रबार १९:३५

लन्डन। फ्रान्सको राजधानी पेरिस क्षेत्र र १६ प्रान्तमा चार हप्ताका लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । फ्रान्समा लकडाउन घोषणा गरिएको यो तेस्रो पटक हो ।आज राती देखी विभिन्न प्रतिबन्धहरु लागु गरिने बीबीसीले उल्लेख गरेको छ । पहिलो भएको लकडाउन जस्तो कडा प्रतिबन्ध नहुने प्रधानमन्त्री जिन कासटेक्सले बताउनुभएको छ ।

लकडाउन अवधिमा अत्यावश्यक बस्तुहरुका पसलहरु खाद्यान्न, औषधि पसल, सूर्तिजन्य र पत्रिका पसल, गाडी सर्भिसिङ सेन्टरहरु र किताब पसलहरुबाहेक अन्य सबै पसलहरु बन्द रहनेछन् । स्कुल र कलेजहरु खुलै हुनेछन् भने विश्वविद्यालयहरु भने बन्द रहनेछन् । रेस्टुरेन्टहरुले भने स्वास्थ्य नियमहरुको कडा पालन गर्दै टेक अवे सुविधा दिन पाउनेछन् ।

लकडाउन गरिएका क्षेत्रबाट लकडाउन नगरिएका क्षेत्रको प्रवेशबीचको आवागमनलाई पूर्णरुपमा निषेध गरिएको छ । पेसागत, उपचार वा अन्य अत्यावस्यक कारणले यात्रा गर्नुपर्नेले कारण खुलेको प्रमाणका साथ यात्रा गर्नुपर्ने छ । लकडाउन गरिएका क्षेत्रमा साँझ सात बजेदेखि कर्फ्यु घोषणा गरिएको छ ।

आउटडोर गतिविधिहरूलाई प्रमाणपत्र प्रस्तुत गर्ने सर्तमा छुट दिईने छ । यस्तो गतिबिधी आफ्नो ठेगानाबाट १० किमी भित्रै सीमित राख्नुपर्ने छ ।

फ्रान्समा २४ घण्टाको अवधिमा ३५ हजार नयाँ संक्रमण भेटिएको छ । पेरीसका अस्पतालमा १ हजार २ सय जनाको हाल सघन उपचार कक्ष आइसियुमा उपचार गरिरहेको स्वास्थ्य मन्त्री ओलीभर भेरानले बताउनुभएको छ । सो संख्या गत नभेम्बरमा महामारीको समय भन्दा बढि हो ।