१५ चैत्र २०८०, बिहीबार
Follow Us

सर्वोच्चको आदेशपछि प्रतिपक्षी दल लचिलो : प्रम दाहाल

नेपालब्रिटेन डट कम्
२० पुष २०७३, बुधबार ०६:३५

काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद बैठक सुचारु हुने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सभामुख घर्तीले संसद बैठक निरन्तर अबरुद्ध हुँदा राजनीतिक र संबैधानिक संकट गहिरिन सक्ने भन्दै दलीय सहमति कायम गरी संसदको गतिरोध हटाउन आग्रह गरेकी हुन् । जवाफमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको आदेशपछि विपक्षी दल संसदको गतिरोध हटाउन लचिलो देखिएको जनाउँदै आउँदो बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरेका थिए । सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी नौं दलले संसद बैठकमा अबरोध गर्दै आएका छन् । जसका कारण संविधान संशोधन, निर्वाचन कानूनसँग सम्बन्धित विधेयक र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा अगाडि बढ्न सकेको छैन् । सभामुख घर्तीले संसद सुचारु गर्नेबारे मंगलबार एमाले अध्यक्ष केपी ओली, नेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन् । संसद बैठक पुस २४ गते बस्ने गरी स्थगित गरिएको छ ।