१६ चैत्र २०८०, शुक्रबार
Follow Us

४१ वर्ष जेल बसेका दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिन कोलकाता उच्च अदालतको आदेश

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७७, सोमबार २१:०५

विनासुनुवाइ ४१ वर्ष जेलजीवन बिताएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)को परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । सोमबार उच्च अदालतले दुर्गाप्रसादले ४१ वर्ष विनासुनुवाइ जेलमा बिताउँदा भोगेको मानसिक तथा शारीरिक यातनाको क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको दुर्गाप्रसादका वकिल हीरक सिन्हाले नयाँ पत्रिकालाई जानकारी दिए ।

उनका अनुसार अब दुर्गाप्रसादको परिवारले पश्चिम बंगाल सरकारसँग क्षतिपूर्ति माग गर्नुपर्नेछ । ‘दीपक जैसीको परिवार आर्थिक रूपमा एकदमै सीमान्तकृत छ । सामाजिक चुनौती पनि भोगेको छ,’ आदेशमा भनिएको छ, ‘कुनै पनि सुनुवाइ र प्रक्रिया नभई ४१ वर्षसम्म थुनामा रहेको कारण उनलाई क्षतिपूर्ति दिने निर्णयले सहयोग गर्छ । राज्य (पश्चिम बंगाल सरकारले)ले क्षतिपूर्ति दिनुपर्छ ।’

हत्या अभियोगमा सन् १९८० मा दार्जिलिङबाट पक्राउ परेका तिम्सिनाले ४१ वर्ष जेलजीवन बिताए । त्यो समयमा उनको मुद्दाको कुनै सुनुवाइ भएको थिएन । उनी पछिल्ला १४ वर्ष कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होममा थिए ।

उनीको दिमागी हालत ठीक नभएको भन्दै तत्काल रिहा गर्न उच्च अदालतले आदेश दिएपछि उनी शनिबार छुटेका हुन् । आइतबार उनी लुम्बकस्थित घरमा पुगेर ८५ वर्षीय आमा धनमायालाई पनि भेट गरेका छन् ।