१२ बैशाख २०८१, बुधबार
Follow Us

अन्नपूर्ण हिमालमा कीर्तिमान रच्दै छजना नेपाली महिला

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७७, सोमबार २१:४१

काठमाडौं । अन्नपूर्ण हिमाल (८०९१ मिटर) मा पहिलो नेपाली महिला आरोही बनेर कीर्तिमान रच्ने भन्दै छ जना महिला आधार शिविरतर्फ लागेका छन् । आरोहण इतिहासमा नाम राखेर कीर्तिमान रच्ने भन्दै छ जना महिला आरोही प्रतिश्पर्धा गर्दै आधार शिविरतर्फ बाटो लागेका छन् । हालसम्म नेपाली महिलाले यस हिमालको आरोहण गर्न सकेका छैनन् ।

हिमाल आरोहणका लागि माया शेर्पा, शर्मिला स्याङतेन, पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पा आधार शिविरतर्फ हिडेका हुन् । उहाँहरू नेपालका व्यवसायिक महिला आरोही हुन् ।

सगरमाथा आरोही संघकी अध्यक्ष समेत रहनु भएकी माया शेर्पा र अर्की आरोही सर्मिला स्याङतेनले भने अन्नपूर्ण हिमालको आरोहणसँगै आठ हजार भन्दा अग्ला १४ वटा हिमालको आरोहण सम्पन्न गर्ने लक्षका साथ आरोहणमा लागेको बताउनुभयो ।
हालसम्म विश्वबाटै दुई जना महिलाले मात्र १४ वटा हिमालको सफल आरोहण सम्पन्न गरेका छन् भने नेपाली महिलाले गर्न सकेको छैन । यी आरोही महिला आधार शिविर जाने क्रममा रहेको र अप्रिलको २० सम्ममा आरोहण सम्पन्न गर्ने तयारी रहेको गोरखापत्रलाई जानकारी दिएका छन् ।

माया विश्वकै अग्लो हिमाल सगरमाथा, दोस्रो अग्लो हिमाल केटु र तेस्रो अग्लो हिमाल कञ्चनजंगा आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन् । यता स्याङतेनले भने सगरमाथा, मनास्लु हिमालको आरोहण गरि सक्नु भएका हुन् । यता दक्षिण एसियाकै पहिलो महिला माउन्टेन गाइड दावा याङजुमले समेत अन्नपूर्ण आरोहण गर्ने लक्षमा छन् । अर्का आरोही फोटोपत्रकार पूर्णिमा, सगरमाथामा पुगेर कफी बनाएर कीर्तिमान रचेका पहिलो बारिस्टा दावाफुटी र ट्रेकिङ गाइड एवं आरोही पासाङ ल्हामुले यसै सिजनमा एकै साथ अन्नपूर्ण हिमाल आरोहण गर्ने भएका छन् ।

यस अघि विदेशी महिलाहरुले अन्नपूर्ण हिमालको आरोहण गरे पनि नेपाली महिलाले भने यस वर्षमात्र आरोहण गरी कीर्तिमान रच्ने भएका छन् । यसै वर्ष हिउँद मौसममा १० जना नेपाली आरोहीले केटु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल भएका थिए । विश्वको दशाैं अग्लो अन्नपूर्ण हिमाल आरोहणका दृष्टिले उच्च जोखिम भएका हिमालमध्ये एक मानिन्छ । सो हालसम्म ६१ जना आरोहीको मृत्यु भएको सरकारी तथ्याङक रहेको छ । कोरोना कहरकै बीच पर्वतारोहणमा असर पु¥याए पनि यस वर्ष आरोहीको संख्या उच्च रहेको पाइएको छ ।

यता चीनले सगरमाथा आरोहण बन्द गरेपछि यस वर्ष करिब तीन सय जना विदेशी आरोहीले आरोहण गर्ने एजेन्सीहरुले जनाएका छन् ।

नेपाली महिलाले समेत साहसिक गतिविधिमा कीर्तिमान राखेर विश्वमा नेपालको शीर उच्च बनाउँदै आएको छ । विसं.२०५० सालमा पासाङ ल्हामु शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेपछि नेपाली महिलाको आरोहणको इतिहास शुरु भएको पाइन्छ । त्यसपछि संखुवासभाकी लाक्पा शेर्पाले नौ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएकाे ।