११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए यूके निर्वाचनः नयाँ सदस्यता लिने अन्तिम मिति जुन १०

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७७, मंगलवार १५:३४


एमआइएसमा जाने निर्णय

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामि जुलाई महिनामा हुने निर्वाचनको लागि प्रकृया सुरु भएको छ ।

गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजीना राई प्रधानका अनुसार संघको सोमवार सम्पन्न बैठकले नयाँ सदस्यता वितरण अप्रिल १ देखि जुन १० सम्म गर्ने निर्णय गरेको हो ।

सदस्यहरुले संघको केन्द्रीय सदस्यता प्रणाली ‘मेम्बर इन्फमेसन सिस्टम’ (एमआइएस) बाट नयाँ सदस्यताको लागि आवेदन गर्नु पर्ने छ ।

मेम्बर इन्फमेसन सिस्टम (एमआइएस) जाने निर्णय पछि गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन समेत अनलाइन भोटिङ मार्फत गर्न बाटो खुलेको छ । अनलाइन भोटिङ एमआइएस प्रणालीभित्रै पर्छ ।

एनआरएनए यूकेका सदस्यहरुले बुझाएको विवरण अब केन्द्रीय सिस्टममा दर्ता हुनेछ । गैरआवासीय नेपाली संघको पुनर्रसंरचना अन्तरर्गतको एमआईएस प्रणालीलाई विश्वका २० भन्दा बढी देशले कार्यन्वयनमा लगेका छन् ।

संघकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारीसंगै चारवटै राज्य परिषदका अध्यक्षहरु, आइसीसी महासचिव डा हेमराज शर्मा, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, दयानिधि सापकोटा, अर्कराज तिम्सिना, सुशिला राई, योगकुमार फगामी, सुरोज मास्के लगायतको सहभागिता थियो ।

बैठकले नयाँ सदस्यता र नविकरणको लागि १० पाउण्ड सदस्यता शुल्क समेत निर्धारण गरेको छ ।

प्रकृया पुरा गरेर प्राप्त सदस्यता आवेदनहरुलाई स्वीकृत गर्न ११ सदस्यीय प्रमाणिकरण समिति बनाउने तयारी एनआरएनए यूकेको रहेको छ ।

यसैबीच एनआरएनए यूकेको आर्थिक छानबिन समितिले बुझाएको प्रतिवेदनका बारेमा समेत बैठकमा छलफल गरिएको बताएको । थप छलफल पछि सो प्रतिवेदन सार्वजनिक गरिने संघले जनाएको छ ।