१३ बैशाख २०८१, बिहीबार
Follow Us

चीनबाट ८ लाख डोज खोप सोमवार काठमाडौं आइपुग्ने

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७७, आईतवार १६:३४

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराउने कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप सोमवार काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप आइसकेपछि केही दिनमै विशेष योजना बनाई खोप वितरण सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । चीनियाँ बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल अन्तर्गत चीनको सिनोफार्मले विकास गरेको ‘भेरो–सेल’ नामक यो खोप निस्क्रिय कोरोना भाइरसबाट बनाइएको खोप हो ।

जनस्वास्थ्यविद् रविन्द्र समिरका अनुसार तेस्रो चरणको क्लिनिकल परिक्षण अन्तर्गत युएईमा १ सय २५ देशका ३१ हजार स्वयंसेवकमा गरिएको अध्ययनमा यो खोपको प्रभावकारिता ८६ प्रतिशत देखिएको छ । सो अध्ययनमा १५ देखि ६० वर्षका व्यक्तिलाई समावेश गरिएको थियो । २८ दिनको अन्तरालमा २ मात्रा खोप लगाउनुपर्ने यो खोप लगाएका व्यक्तिलाई हालसम्म कुनै गम्भीर खालका समस्या नदेखिएको डा समिरले बताउनुभयो । खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने लगायतका सामान्य खाले असर देखिने खोप उत्पादक कम्पनी सिनोफार्मले जनाएको छ ।

चीनसहित युएई, बहराइन, इजिप्ट, जोर्डन, पेरु, अर्जेन्टिना, मोरक्कोलगायत देशले यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएका छन् । हालसम्म १३ देशमा यो खोप लगाउने क्रम चलिरहेको छ । आफ्नो मुलुकमा करीब १ करोडभन्दा धेरै व्यक्तिलाई यो खोप लगाइएको दाबी चीनले गरेको छ ।

नेपालले भने गत जनवरी १६ मा यो खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो । यो खोप १८ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिलाई लगाउन सुरक्षित रहेको सिनोफार्मले जनाएको छ । यद्यपी कोभिशिल्ड खोप भन्दा यो खोप अलि महंगो छ । प्रति डोज यो खोप ३० देखि ४८ डलरसम्म पर्ने बताइएको छ ।

यसअघि हिजै काठमाडौंस्थित चीनिँया दूताबासले नेपालका लागि तयार पारिएको ८ लाख डोज खोप बेइजिंग विमानस्थलमा आइपुगेको सामाजिक सञ्जालमार्फत जनाएको थियो ।