७ बैशाख २०८१, शुक्रबार
Follow Us

पासा पुचः यूकेको अध्यक्षमा पुनः ओजेश सिंह

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७७, आईतवार २१:३८

लन्डन । ‘पासा पुचः गुथि यूके’ को नेतृत्वमा ओजेश सिंह पुनः ओजेश सिंह चयन भएका छन् ।

आइतबार भर्चुअल रुपमा सम्पन्न संस्थाको छैठौं अधिवेशनले यसअघिको कार्यसमितिका अध्यक्ष सिंहकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा सुशिल प्रजापति र जानकी कायस्थ, महासचिव सन्दीप श्रेष्ठ र कोषाध्यक्षमा रजनी श्रेष्ठ चुनिएका छन् ।

२ वर्षे कार्यसमितिको २१ सदस्यमा संस्थाका ६ वटै शाखाले पठाएका प्रतिनिधि समावेश छन् । लन्डनबाट ५, साउथ इष्ट लन्डनबाट ५, रेडिङबाट ४, अल्डरसटबाट ३, स्कटल्याण्डबाट ३ र वेल्सबाट १ प्रतिनिधि कार्यसमिति सदस्यमा समेटिएका छन् ।

संस्थाका पूर्व अध्यक्ष कुमार श्रेष्ठको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको थियो । संस्थापक एवं ट्रस्टी बालमुकुन्द जोशीले शपथग्रहण गराएका थिए ।

निवर्तमान कार्यसमितिका महासचिव सुशिल प्रजापति र कोषाध्यक्ष सन्दीप श्रेष्ठले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा स्कटल्याण्ड शाखाका अध्यक्ष विजयमान डंगोल, लन्डन शाखाकी अध्यक्ष रुक्मिणी मानन्धर, अल्डरसट शाखाका अध्यक्ष केशव श्रेष्ठ, साउथ ईष्ट लन्डन शाखाका अध्यक्ष माधवलाल श्रेष्ठ र रेडिङ शाखा अध्यक्ष जानकी कायस्थले शुभकमना दिए ।

नयाँ कार्यसमितिले बेलायतका विभिन्न क्षेत्रस्थित संस्थाका ६ शाखाबीचको समन्वय बढाउने लक्ष्य लिएको छ । शाखाहरुको सशक्तिकरण गर्ने र सबै शाखाहरुको कार्यसम्पादनमा एकरुपता ल्याउने पनि योजना छ ।

त्यस्तै, नयाँ कार्यसमितिले संस्थालाई आर्थिक रुपमा दिगो बनाउने, संस्थाको पहिचान अन्तरराष्ट्रिय मञ्चहरुसम्म स्थापित गर्ने र संस्कृति एवं परम्पराको प्रवद्र्धनलाई प्रभावकारी रुपमा अघि बढाउने जस्ता योजना अघि सारेको छ ।

नवनिर्वाचित अध्यक्ष सिंहले दोस्रो कार्यकालका लागि नेतृत्वको जिम्मा दिने अग्रज एवंम सबै सदस्यहरुप्रति आभार प्रकट गरेका छन् । संस्थाको प्रतिष्ठालाई अझ उचो पार्ने दिशामा क्रियाशिल रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।