८ बैशाख २०८१, शनिबार
Follow Us

१० अर्ब रुपैयाँ लगानी गर्न ‘एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड’ दर्ता

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७७, मंगलवार १४:४८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को दर्ता प्रक्रिया सकिएको छ । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएकाे ‘एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

पन्तका अनुसार यो कोषमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीलाई लगानीका लागि आइपीओ जारी गरिनेछ । १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको पन्तले बताए ।

हालसम्म २ अर्ब प्रतिबद्धता आइसकेको छ । जुन आगामी हप्ताबाट प्राप्त हुने पन्तको भनाइ छ । बाँकी रकम विदेशमा आइपीओ जारी गरेर संकलन गर्ने तयारी छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।

‘२ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको छ । जुन यसै हप्ताबाट प्राप्त हुन थाल्नेछ। नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ,’ पन्तले भने ।

पन्तका अनुसार छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिनेछ ।जसमा दसौँ लाख नेपाली सहभागी हुने एनआरएनएको अपेक्षा छ । संघको अथक प्रयासपछि अन्ततः ऐतिहासिक दिन आएको भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको अध्यक्ष पन्तले बताए ।