७ बैशाख २०८१, शुक्रबार
Follow Us

साढे चार अर्ब रूपैयाँको आइपिओ पाइपलाइनमा

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७७, बुधबार ०४:४१

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनअघि सर्वसाधारणलाई ६६ लाख कित्ता सेयर बिक्री गर्‍यो। करिब १८ लाखले आवेदन गरेकामा झण्डै ६ लाखले उक्त कम्पनीको सेयर हात पारे। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको २९ लाख कित्ता सेयर केही दिनमा बाँडफाट हुँदैछ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ पद्धतिमा सेयर जारी गर्न अन्तिम तयारी गरेको छ। पछिल्लो समयमा विभिन्न कम्पनीले सेयर जारी गर्ने क्रम निकै फस्टाएको छ। एकपछि अर्को कम्पनीले सेयर जारी गर्ने क्रम बढेपछि डिम्याट खाता खोल्ने क्रम पनि बढिरहेको छ।

यतिमात्र नभई तत्काल एक दर्जन बढी कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न अन्तिम तयारी गरेका छन्। विभिन्न कम्पनीले करिब साढे चार अर्ब रूपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन गरेका छन्।

प्रतिकित्ता एक सय रूपैयाँमा पाइने सेयर बोर्डले स्वीकृति दिनेबित्तिकै सर्वसाधारणलाई बिक्री गर्ने तयारी छ। पाइपलाइनमा अधिकांश जलविद्युत् कम्पनी छन्। विगतमा जलविद्युत् कम्पनीको सेयरमा त्यत्ति धेरै आकर्षण नभए पनि पछिल्लो समयमा यस्ता कम्पनीका सेयर खोसाखोस हुने गरेको छ।

सेयर निष्कासनका लागि बोर्डमा मैलुङ खोला, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, मध्य भोटेकोसी जलविद्युत् कम्पनीले आवेदन दिएका छन्। त्यस्तै साहस ऊर्जा, न्यादी हाइड्रोपावर, बिन्दाबासीनी हाइड्रोपावर तथा हिमालयन हाइड्रोपावर कम्पनी पनि सेयर निष्कासनको पाइपलाइनमा छन्। साम्लिङ पावर, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी माघ ८ गतेदेखि पाइपलाइनमा छन्।

यसैगरी, डिस मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार नौ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार नौ सय २९ कित्ता र इमर्जिङ नेपालको पाँच करोड रूपैयाँ बराबरको आइपिओ पाइपलाइनमा छ।

३२ अंकले बढ्यो नेप्से

मंगलबार सेयर बजार मापक नेप्से दोहोरो बिन्दुले बढेको छ। अघिल्लो दिन सामान्य घटेको सेयर यस दिन ३२.१५ बिन्दुले बढेर २५७५ मा पुग्यो। नेप्सेको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। सोमबार चार अर्ब ४१ करोड रूपैयाँको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब १८ करोड रूपैयाँ बराबरको सेयर किनबेच भयो।

यस दिन सबभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को भयो। उक्त बैंकको ४८ करोड रूपैयाँ बराबरको सेयर कारोबार भयो। अघिल्लो दिन निफ्राको ४४ करोड रूपैयाँको कारोबार भएको थियो। यस दिन अजोड इन्स्योरेन्ससहित पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।

अजोडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। केही दिनयता सेयर बजार घटबढ भइरहेको छ। खासगरी बैंकिङ च्यानलमा तरलता घट्दै गएपछि सेयर बजारमा उतारचढाव आइरहेको अनुमान गरिएको छ।