१३ बैशाख २०८१, बिहीबार
Follow Us

पाण्डे र भुसालकाे स्पष्टीकरण: ‘ओलीका आरोप सबै झुटा हुन्’

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७७, बुधबार ०४:४२

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउँदै झूटा आरोप लगाएको बताएका छन्। संसदीय दलको बैठक र स्पष्टीकरण लेखिएका बुँदा दुवै झूटा आरोपको पुलिन्दा मात्रै भएको बताएका छन्।

उनीहरूले नेकपा (एमाले) मा जे जति समस्या आएका छन् तिनीहरूलाई कुनै व्यक्ति वा गुटका इच्छा वा स्वार्थका आधारमा नभई पार्टीको विधानका आधारमा मात्रै समाधान गर्न सकिने बताउँदै त्यो समस्या समाधानका लागि पार्टी अध्यक्षकै सक्रियता आवश्यकता रहेको तर समाधान गर्न नचाहेकै कारण समस्या बढेको बताएका छन्।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीले पटकपटक झूठो बोलेको दृष्टान्तसमेत दिएका छन्, ‘कमरेड अभिवादन ! यहि फागुन २८ गते शुक्रबार बिहान ठीक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थितिका लागि अनुरोध छ । ईश्वरी रिजाल, सचिव, नेकपा (एमाले) केन्द्रीय कार्यालय, धुम्बाराही।’ के तपाईंले यसको खण्डन गर्न सक्नुहुन्छ ? मेरो चुनौतीपूर्ण प्रस्ताव छ, एउटा जाँचबुझ कार्यदल गठन गरौं र नेपाल टेलिकमसँग तथ्यहरू मागौं।

उक्त प्रकारको सन्देश कुन कुन व्यक्तिलाई गएको छ वा त्यसबाहेक अरु के सूचना जारी भएको छ खोजी गरौं, तपाईंले झुठ बोल्नु भएको कुरा प्रमाणित भइहाल्छ।’ उनले अगाडि भनेका छन्, ‘तपाईंले यस्ता झुटाकुरा पटकपटक गर्दै आएनुभएको छ। उदाहरणका रूपमा: राष्ट्रपतिकहाँ पठाइएको समावेदन फिर्ता गर्दा अध्यादेश फिर्ता गर्छु भनेर सहमति गर्नुभयो, तर समावेदन फिर्ता भयो। तर तपाईं आफंैले फिर्ता गर्छु भनेको अध्यादेश फिर्ता लिनुभएन । त्यसैगरी अहिले फागुन २८ गतेको गुटको बैठकलाई पार्टी केन्द्रीय कमिटीको बैठक भन्नुभएको छ,’ पाण्डेले पठाएको स्पष्टीकरणमा भनिएको छ।

उपमहासचिव भुसालले केन्द्रीय कमिटीका अन्य सदस्यहरूलाई कुनै जानकारी नदिई गोप्यरूपमा गत फागनु २८ गते प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना गुटका मानिसहरूको भेला बोलाएर त्यसैलाई कथित केन्द्रीय कमिटीको बैठक भनेर पार्टीको विधान र प्रक्रियाविपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा (एमाले) को सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गरेको बताएका छन्।

उनले ओलीलाई असहिष्णु भएको आरोप लगाएका छन्। ओेलीसँग असहमत भएका दोस्रो पुस्तालाई त ओलीले नै किनारा लगाई सकेको बताएका छन्। ‘ कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ । तपाईंसँग अहिले दोस्रो पुस्ताको जुन समूह छ त्यसमध्ये केही धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भइसकेका छन्। उनीहरू जे गर्छन् राजनीतिको व्यापार गर्छन्।

त्यसबाहेक केही कमरेडहरू लामो समय मूलतः राजनीतिक आदर्शले प्रेरित भएर सङ्घर्ष गरेर आएका हुन्,’ भुसालले भनेका छन्, ‘तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो र त्यसका पछाडि अझ अर्को पुस्ता तयार भइसक्ने थियो,। उनले असहिष्णु छायामुनि टाक्सिँदै गएर उनीहरू केवल ओलीको आदेशपालक जमातमा परिणत हुँदै गएको समेत बताएका छन्। ‘उनीहरूको सिर्जना, स्वःअस्तित्व, प्रतिबद्धता सबै गुम्दै गैरहेको छ।

उनीहरू जुन कुरा देख्छन् त्यो बोल्न सक्दैनन् जुन कुरा बोल्छन् त्यो झुठो हो भन्ने उनीहरूलाई थाहा छ। यसरी उनीहरूको व्यक्तित्व पनि विभाजित व्यक्तित्व बन्दैछ। सोच्ने एक थोक, बोल्ने अर्को थोक र गर्ने अझै अर्को थोक हुन जाँदा व्यक्तित्व विघटित हुन्छ र नक्कली व्यक्तित्व बन्छ। यसरी सत्ताले नक्कली व्यक्तित्वहरूको झुण्ड तयार गर्छ। तपाईँको सत्ताले पार्टीमा यस्ता नयाँ मानिसहरू जन्माउँदै छ जसको योग्यता आदेश तामेल गर्ने मात्रै हो,’ उनले भनेका छन्। उनले पार्टी लाखौं सदस्यको नाम, इज्जत, पहिचान, स्वत्वको मूल्यमा केवल ओलीकोे नाम भएका, ओलीकोे मात्रै पहिचान र इज्जत भएको, ओलीको मात्र स्वतन्त्रता रहेको ‘एकमना’ पार्टीमा बदलिँदै गएको आरोप लगाएका छन्।

प्रकाशित: १८ चैत्र २०७७ ०८:०३ बुधबार