१३ बैशाख २०८१, बिहीबार
Follow Us

ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एकसाथ दिए राजीनामा

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७७, बुधबार ०५:५९

ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एक साथ राजीनामा दिएका छन् । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक संकट झेलिरहेको समयमा नै उनीहरुको एकसाथ राजीनामा आएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जइर बोल्सोनारुले सेनामा अनावश्यक रुपमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा जनरल एड्सन लिएल पुजोल, एडम इल्क्वेस बार्बोसा र लेफ्टिनेन्ट एन्तोनिओ कार्लोस बेर्मुडेज रहेका छन् । राष्ट्रपतिसँगको असन्तुष्टीकै आधारमा स्थल, जल तथा हवाई सेनाका प्रमुखले एकसाथ राजीनामा दिएको यो पहिलो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सोमबार मन्त्रिपरिषद्का विदेश र रक्षा मन्त्रीले राजीनामा दिएका थिए । त्यसपश्चात राष्ट्रपति बोल्सोनारु मन्त्रिपरिषद् पुनर्गठन गर्न बाध्य भएका थिए ।

राष्ट्रपति बोल्सोनारुमाथि कोरोना भाइरस महामारी नियन्त्रका लागि पर्याप्त पहल नगरेको आरोप छ । कोरोना नियन्त्रणका लागि वैज्ञानिकले अत्यावश्यक भनेको क्वारेन्टिनसहितका उपायहरुसमेत राष्ट्रपति बोल्सोनारुले अस्वीकार गरेका थिए ।