११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत लिनुपर्छ

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७७, बुधबार १०:१२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ भित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी गरेका छन्। आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले सो अवधिभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने बताएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताए । उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ ।’

धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गुरुङले भने, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ। अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ ।’